
बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पस गेटमा च्याम्बर भाँचिएर भएको खाल्डो पुरिएको छ । सडकको मध्ये भागमा रहेको च्याम्बर भाँचिदा समस्या भन्ने खबर हिडन खबरमा प्रकाशित भएसँगै वडाले समाधानको पहल थालेको थियो ।
सडकको बिचमा रहेको च्याम्बर भाँचिदा सडक आवागमनमा समेत अवरोध भइरहेको थियो भने कयौं सवारीसाधन खाल्डोमै फस्ने गरेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर २ को सक्रियतामा उक्त ठाउँमा फलामको च्याम्बर राखिएको वडा अध्यक्ष सुरज बोसेलले बताउनुभयो ।
“हामीले सडकमा च्याम्बर भाँचिएको थाहा पाएपछि नापजाँच र तयार गर्न भनिसकेका थियौँ, तयार गराउँदा केही समय लागेपनि आज समस्या समाधान गरिसकेका छौं” हिडन खबरसँगको संवादमा वडा अध्यक्ष सुरज बोसेलले भन्नुभयो “वडा भित्र कहिँ कतै यस्ता समस्या भएमा तत्काल वडामा खबर गर्न समेत सबैलाई अनुरोध गर्दछु”









