हरिबोधनी एकादशी मेला भलिबलको उपाधि गलकोटलाई

-


     हिडन खबर    
     मंसिर ७ गते २०८३ मा प्रकाशित


जैमिनीलाई ३–१ को सेटमा पराजित गर्दै गलकोट च्याम्पियन

बागलुङ, मंसिर ६ । हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोटले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टोलीले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर च्याम्पियन बन्न सफल भयो ।

पहिलो सेट जैमिनीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेटमा गलकोटले २५–१९ को जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेटमा जैमिनीले २४–२१ को अग्रता बनाए पनि त्यसलाई जितमा परिणत गर्न सकेन । उत्कृष्ट प्रदर्शन गरेको गलकोटले लगातार अंक जोड्दै तेस्रो सेट २९–२७ ले जित्यो ।

त्यसपछि चौथो सेटमा पनि २५–२१ को जित निकाल्दै गलकोटले उपाधि सुनिश्चित गर्‍यो ।

गण्डकी प्रदेश भलिबल टोलीका नियमित सदस्य इन्द्र विक तथा अनुभवी खेलाडी प्रकाश सुनार र कुस्मन थापामगरसहितको गलकोट टोलीले युवा खेलाडीले भरिएको जैमिनीलाई पराजित गरेको हो । जैमिनीका शंकर सुनार, शिव रसाइली र विधान रोकालगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई उपाधि दिलाउन सकेनन् ।

उपाधिसँगै नरेठाँटी भलिबल गलकोटले नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जैमिनी नगरपालिकाले एक लाख रुपैयाँ, तेस्रो भएको कुश्मा नगरपालिकाले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गरेको बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताभर अनुशासित खेल प्रदर्शन गर्दै उत्कृष्ट प्रदर्शन गरेका गलकोटका कुस्मन थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोली र खेलाडीलाई ९५ वर्षीय ज्येष्ठ नागरिक कृष्णलाल शाक्य तथा मेला व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कार वितरण गरेका थिए ।