
लेखनाथ, मंसिर ७
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा २ लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आर्थिक मन्दीका कारण निजी क्षेत्र निरुत्साहित भइरहेको अवस्थामा स्थानीय उत्पादनको बजारीकरण, व्यापार प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिइएको बताइन्।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीसँगै स्थानीय कृषि उत्पादन, सुन्तला, माछा, मह, कफी, ताजा तरकारी तथा दुग्धजन्य वस्तुको बिक्री र प्रदर्शनी गरिने संघका द्वितीय उपाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए।
महोत्सवमा कृषि, पर्यटन तथा उद्योगसम्बन्धी संवाद, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, हस्तकला, ग्रामीण प्रविधि र विभिन्न जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिनेछ। साथै रत्यौली, विद्यालयस्तरीय नृत्य, लोकदोहोरी, पप कन्सर्ट, हास्यव्यङ्ग्य, साहित्यिक कार्यक्रम, बाल उद्यान तथा साइकल र्याली मुख्य आकर्षण रहनेछन्।
महोत्सवमा कुल ३३५ स्टल रहनेछन्। तीमध्ये गार्मेन्ट तथा तयारी पोसाकका ११२, कृषि तथा पशुजन्य उत्पादनका ४०, किचन सामग्रीका २६, खाद्यान्न तथा पेय पदार्थका १८, हस्तकलाका १४ र अन्य विभिन्न व्यवसाय तथा उत्पादनका स्टल रहनेछन्।
आयोजकका अनुसार महोत्सवबाट १ करोड ५ लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर बचत हुने २० लाख रुपैयाँ सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिनेछ।
महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। सुगम संगीत कन्सर्टका लागि २०० रुपैयाँ लाग्नेछ। संघका सदस्यले स्टल बुकिङ गर्दा २० प्रतिशत छुट तथा सामान ढुवानीमा थप २ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक एग्रो थाई फुड्सका तर्फबाट संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले स्वदेशी उत्पादनले आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा योगदान पुर्याउन सक्ने बताए।
संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, संघसंस्था, कलाकार तथा स्थानीयवासीको सहयोग आवश्यक रहेको बताए। कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए।
महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन्। सहआयोजकमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन्। एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर इनर्जी ड्रिङ्क) मुख्य प्रायोजक रहेको छ।










