पाँच वर्ष बित्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन, पाँचौँ पटक म्याद थप

-


     सुजन आचार्य     
     मंसिर ९ गते २०८३ मा प्रकाशित


आठ करोडभन्दा बढीको आयोजना अझै अधुरो, वार्षिक २० लाख रुपैयाँ घरभाडामै खर्च

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्दासमेत सम्पन्न हुन सकेको छैन। पटक–पटक म्याद थपिँदै जाँदा पनि भवन निर्माणले पूर्णता नपाएपछि नगरपालिकाको विकास निर्माण व्यवस्थापन, निर्माण व्यवसायीको कार्यक्षमता र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

आफ्नै प्रशासकीय भवन नहुँदा नगरपालिकाले वार्षिक करिब २० लाख रुपैयाँ घरभाडामा खर्च गर्दै आएको छ। एकातिर करोडौँ रुपैयाँको भवन निर्माण आयोजना अलपत्रजस्तै अवस्थामा रहनु र अर्कोतिर सेवाप्रवाहका लागि घरभाडा तिर्नुपर्ने बाध्यताले नगरपालिकामाथि थप आर्थिक भार परेको छ।

जैमिनीवासीले पाँच वर्षसम्म पनि भवन निर्माण सम्पन्न हुन नसक्नुको कारण खोज्न थालेका छन्। निर्माण व्यवसायीको ढिलासुस्ती हो वा नगरपालिकाको कमजोर अनुगमन र व्यवस्थापन, यसको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।

२०७८ सालमा शिलान्यास, २०८१ मै बन्नुपर्ने भवन अझै अधुरो

जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास २०७८ साल फागुन २० गते तत्कालीन नगरप्रमुख इन्द्रराज पौडेलले गर्नुभएको थियो। स्थानीयवासीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको करिब आठ रोपनी जग्गामा भवन निर्माण सुरु गरिएको थियो।

करिब आठ करोड १७ लाख ६५ हजार रुपैयाँ लागतमा भवन निर्माण गर्ने गरी रविना–प्राकृतिक–जुगल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो।सम्झौता अनुसार २०८१ पुस १६ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

तर निर्धारित समयसीमाभित्र काम सम्पन्न हुन सकेन। त्यसपछि पटक–पटक म्याद थप हुँदै आएको छ। उपलब्ध विवरणअनुसार पाँचौँ पटक म्याद थप गरी २०८३ माघ मसान्तसम्म निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ।

निर्माण सुरु भएको पाँच वर्ष पुग्न लाग्दासमेत भवनले पूर्णता नपाउनु सामान्य ढिलाइ मात्र नभई सार्वजनिक लगानी र सेवा प्रवाहसँग जोडिएको गम्भीर विषय बनेको छ।

ढिलाइको जिम्मेवारी कसले लिने?

निर्माण कार्यमा भएको ढिलाइको वास्तविक कारण, हालसम्म सम्पन्न भएको कामको अवस्था, निर्माण व्यवसायीले परिचालन गरेको जनशक्ति तथा उपकरण र नगरपालिकाले गरेको अनुगमनबारे स्पष्ट जानकारी सार्वजनिक हुनु आवश्यक छ।

पाँचौँ पटकसम्म म्याद थप गर्नुपर्ने अवस्था आउँदा पनि निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन नगरपालिकाले के–कस्ता कदम चाल्यो भन्ने प्रश्नसमेत उठेको छ।

आठ करोडभन्दा बढीको सार्वजनिक लगानी भएको आयोजना समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर नगरपालिकाको सेवा प्रवाह र आर्थिक व्यवस्थापनमा परेको छ। अब थपिएको समयसीमाभित्र पनि भवन निर्माण सम्पन्न हुन्छ कि फेरि म्याद थपिन्छ भन्ने चासो जैमिनीवासीमा बढेको छ।

नगरपालिकाले निर्माण ढिलाइको कारण, हालसम्मको प्रगति, भुक्तानीको अवस्था र आगामी कार्ययोजना सार्वजनिक गर्दै नागरिकलाई जवाफ दिनुपर्ने देखिन्छ।