
घलेम्दी हाइड्रो दोस्रो र दि क्लिफ तेस्रो स्थानमा
बागलुङ, मंसिर ७
बागलुङमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड सम्मानित भएको छ। सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाको सूचीमा घलेम्दी हाइड्रो लिमिटेड दोस्रो र पर्वतको दि क्लिफ प्रालि तेस्रो भएका छन्।
राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङले आयोजना गरेको कर सप्ताह समापन तथा करदाता सम्मान समारोहमा तीनै संस्थालाई सम्मान गरिएको हो।

बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय कारोबार सञ्चालन गर्दै आएको ग्रिन डेभलपमेन्ट बैंकले २ करोड ६५ लाख ८१ हजार ५३३ रुपैयाँ आयकर दाखिला गरेको छ। त्यसैगरी, म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको घलेम्दी हाइड्रो लिमिटेडले ७८ लाख ९४ हजार ६७२ रुपैयाँ र पर्वतको कुश्मा नगरपालिका–५ मा मुख्य कार्यालय रहेको दि क्लिफ प्रालिले २८ लाख १२ हजार ३४३ रुपैयाँ आयकर दाखिला गरेका छन्।
सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले सम्मानित संस्थाका प्रतिनिधिलाई सम्मानपत्र तथा दोसल्ला प्रदान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले कर तिर्नु कानुनी दायित्व मात्र नभई राष्ट्रप्रतिको जिम्मेवारीसमेत भएको बताउनुभयो। पर्यटन, जलविद्युत् तथा खानीका क्षेत्रमा प्रचुर सम्भावना रहेको धौलागिरि क्षेत्रको विकासबाट निजी क्षेत्र र राज्य दुवैलाई आर्थिक लाभ पुग्ने उल्लेख गर्दै उहाँले क्षेत्रको समग्र विकासका लागि सबै पक्ष सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।

कर प्रणालीलाई थप सुदृढ बनाउँदै राजस्व संकलन वृद्धि गर्न सरकारी निकाय, निजी क्षेत्र र आम करदाताबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, अधिकृत विक्रेता संघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुंगाना, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी. पौडेल, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र दि क्लिफ प्रालिका निर्देशक राजन जोशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

आन्तरिक राजस्व कार्यालय बागलुङका कर अधिकृत हिमाल शर्मा भुलले कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर अधिकृत राजनमणि शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कर अधिकृत राजन सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

आन्तरिक राजस्व कार्यालय बागलुङले मंसिर १ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ मनाएको हो।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ संकलन भएको छ।
कार्यालयले अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी सेवा सञ्चालन गर्नुका साथै बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहमा करदाता सेवा विस्तार गरेको जनाएको छ। सेवा केन्द्रबाट व्यवसायी तथा सर्वसाधारणले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लगायतका करसम्बन्धी सेवा लिन सक्नेछन्।









