
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी पुस महिनादेखि नवनिर्मित भवनबाट नागरिकलाई सेवा प्रवाह गर्ने तयारी गरेको छ।
नगरपालिकाको नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै कार्यालयका सम्पूर्ण प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी काम नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको हो।
नवनिर्मित भवनको उद्घाटन नगरप्रमुख रामचन्द्र जोशीले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै नगरपालिकाका विभिन्न शाखा तथा सेवा नयाँ भवनबाट सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ।
नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि नागरिकलाई प्रशासनिक कामकाजमा सहज हुने अपेक्षा गरिएको छ। व्यवस्थित भौतिक संरचनासहित कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई सेवा लिन सहज हुनुका साथै नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने विश्वास गरिएको छ।









