मालीका माध्यमिक बिद्यालयलाइ आवाशीय र अङ्ग्रेजी माध्यमकाे बिद्यालयकाे रूपमा रूपान्तरण हुने

-


     हिडन खबर    
     चैत्र २४ गते २०८० मा प्रकाशित


बागलुङ ।बिद्यार्थी र अभिभावककाे ध्यान निजी बिद्यालयतर्फ केन्द्रीत भएपछि सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा हुदैन भन्ने भ्रम परिरहेको बेला बागलुङको एक बिद्यालयले समय अनुकूल आफ्नो बिद्यालयमा गुणस्तरीय शिक्षा दिदै आवाशीय र अङ्ग्रेजी माध्यमकाे बिद्यालयकाे रूपमा अगाडि बढाउने प्रतिबद्धताका साथ नयाँ शैक्षिकसत्रमा नयाँ उत्साह साथ अगाडि बढेको छ ।

बागलुङ नगरपालिका वडा नं. ५ मा अवस्थित श्री मालिका माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ देखि विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यक्रम ल्याएकाे हाे ।

बागलुङ नगरपालिकाका पूर्व वडा अध्यक्ष शिवप्रसाद सापकोटाको नेतृत्वमा विद्यालय व्यवस्थापन गठन भएपछि समितिले वडाका जनप्रतिनिधिहरू, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय संघ–संस्था, विद्यालयका संस्थापक, शिक्षाप्रेमी, समाज विकासमा चिन्तनशील सरोकारवालासँगको एकल एवं सर्वपक्षीय बैठक, अन्तक्रिया गरि बिद्यालयमा अहिले भइरहेको पढाइमा अझै राम्रो र गुणस्तरीय बनाउदै लैजाने निर्णय भएको बिद्यालयका प्रधानाध्यापक बालकृष्ण सापकोटाले बताए ।

विद्यालयको सर्वपक्षीय विकास सँगसँगै मूलत: शैक्षिक गुणस्तर सुधारका लागि गठनपश्चात् निकै सक्रिय देखिएको बिद्यालय ब्यवस्थापन समितिले चैत्र २३ गतेका दिन ब्यवस्थापन समिति –जनप्रतिनिधि–शिक्षक–अभिभावक संयुक्त बैठकबाट निम्न प्रस्तावहरू अगाडि सारेको छ ।

शैक्षिक सत्रको सुरुवातदेखिनै विद्यालयको नियमित समयका अतिरिक्त कक्षा ४–१० का विद्यार्थीहरूलाई विहान ८:४५ बजेदेखि र बेलुका ४:४५ बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गर्ने,विद्यालयका बालविकासदेखि १२ कक्षासम्मका सम्पूर्ण विद्यार्थीहरूलाई आर्थिक स्रोतको उपलब्धताले थेगेसम्म शून्य शुल्कमा र अभिभावकबाट उठाउनुपर्ने आवश्यकता परेको खण्डमा न्यून शुल्कमा स्तरीय दिवा खाजाको व्यवस्था गर्ने भएको ब्यवस्थापन समितिले जनाएको छ ।

विद्यालयमा सबै शिक्षकहरू विहान ९:४५ भित्रै उपस्थित भई दैनिक योजना बनाउने र ४:१५ सम्म विद्यालयमा रही दैनिक समीक्षा गर्ने,विव्यस, जनप्रतिनिधि र अभिभावकबाट नियमित अनुगमनका लागि सम्पर्क कक्षको निर्माण गरी अभिभावकलाई विद्यालयसँग जोड्नुका साथै विद्यालयमा अनुशासन कायम गर्नका लागि शिक्षक एवं विद्यालय प्रशासनलाई सहयोग गर्ने, अत्यावश्यक कामले कुनै शिक्षक विदा बस्नुपर्ने भएमा लगातार ३ दिनसम्मका लागि भए प्रधानाध्यापकबाट र सोभन्दा बढी दिन बस्नु पर्ने भएमा विव्यसबाट पूर्व स्वीकृति लिएरमात्रै बस्न सक्ने बिधि बनाइएको ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सापकोटाले बताए ।

अभिभावको भावना र चाहनालाई मनन गर्दै कक्षा १–५ का बालबालिकाहरूलाई अंग्रेजी भाषाको भाषिक क्षमता वृद्धिलाई प्राथमिकता दिनुका साथै कक्षा ६–८ का बालबालिकाहरूलाई गणितीय सीप विकासलाई ध्यानमा राखेर अंग्रेजी माध्यममा पठन पाठन गर्नुका सार्थै स्थानीय विषयकारूपमा थप गणित विषय अध्यापन गराउने,
विद्यालयको आयव्यय एवं विद्यार्थीको शैक्षिक उपलब्धिलाई मासिकरूपमा प्रतिवेदनमार्फत् सार्वजनिक गर्ने,
विद्यालयलाई पूर्णत: बालमैत्री विद्यालयका रूपमा विकास गरिने,टाढाबाट आउने विद्यार्थीहरूको हकमा यातायात सुविधाको खोजी गर्न लागेको अध्यक्ष सापकाेटाले बताए ।

बागलुङ नगर शिक्षा अधिकारी श्री धनप्रसाद पोख्रेलको सहजीकरण र सरोकारवाला पक्षसँगको घनीभूत छलफलबाट अगाडि सारिएकाे सकारात्मक अभ्यासहरूलाई विद्यालयका शिक्षकहरूले इमान्दारिताका साथ मूर्तरूप दिने प्रतिवद्धता जनाएका छन् ।

आगामी दिनमा बिद्यालयलाइ आवासिय तथा प्राबिधिक बिद्यालयको रुपमा बिकास गराउने योजना बनाएको छ ।

बिद्यालयमा हाल कक्षा १ देखि १२ सम्म २०० जना बिद्यार्थीले अध्ययनरत छन् ।