प्रत्यक्ष दृष्टि सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

-


     राजेशचन्द्र राजभण्डारी     
     मंसिर ६ गते २०८३ मा प्रकाशित


काठमाडौं । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंको बालाजुमा सम्पन्न भएको छ।

साधारणसभामा संस्थाका अध्यक्ष श्याम श्रेष्ठले आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए।

त्यस्तै, लेखा समितिका सदस्य गंगा सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

साधारणसभामा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरी उपस्थित सेयर सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका छन्।

कार्यक्रममा सहकारी विज्ञ रामप्रसाद आचार्य, संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मा तथा सेयर सदस्य स्वयंप्रकाश श्रेष्ठले संस्थाले विभिन्न प्रतिकूल परिस्थितिका बाबजुद प्रगति गर्न सफल भएको बताएका थिए। उनीहरूले संस्थाको विकास, स्थायित्व र सफलतामा सेयर सदस्यहरूको विश्वास, साथ र सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारीको मूल मर्मअनुसार सदस्यकेन्द्रित सेवा र संस्थागत सुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

२०६७ साल पुस २ गते स्थापना भएको प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्थाको हाल निक्षेप २१ करोड रुपैयाँ, सेयर पुँजी २ करोड ५३ लाख ८३ हजार रुपैयाँ र कर्जा लगानी १९ करोड रुपैयाँ रहेको संस्थाका प्रबन्धक किस्मत जङ्ग राजभण्डारीले जानकारी दिए। उनका अनुसार संस्थामा हाल ५ सय ६२ जना सेयर सदस्य आबद्ध छन्।

सहकारीको आर्थिक अवस्था सुदृढ बनाउँदै सदस्यहरूको बचत सुरक्षा, उत्पादनशील क्षेत्रमा कर्जा लगानी र सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा सहकारीले थप ध्यान दिनुपर्नेमा साधारणसभाले जोड दिएको छ।

संस्थाका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सैब्या बिजुक्छेले गरेकी थिइन् भने सञ्चालन सचिव विष्णु शर्माले गरेका थिए।