
एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न स्वास्थ्यकर्मीलाई आग्रह
बागलुङ, मंसिर ४ । एन्टिबायोटिकको सही प्रयोग गरौँ, एन्टिमाइक्रोबियल प्रतिरोध रोकथाममा सबै जिम्मेवार बनौँ भन्ने मूल नारासहित बागलुङमा एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह (World AMR Awareness Week) को अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले मंसिर ४ गते निरन्तर जनस्वास्थ्य शिक्षा (Continuing Public Health Education–CPHE) अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे र जनस्वास्थ्य अधिकृत अनुशा शर्माले गर्नुभएको थियो।
कार्यक्रममा एन्टिमाइक्रोबियल प्रतिरोधका कारण, यसले निम्त्याउन सक्ने स्वास्थ्य चुनौती, एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग तथा प्रतिरोध रोकथामका उपायबारे छलफल गरिएको थियो।
एन्टिबायोटिकको अनावश्यक तथा जथाभावी प्रयोगले औषधिप्रति सूक्ष्मजीवमा प्रतिरोध क्षमता विकास हुन सक्ने र सामान्य संक्रमणको उपचारसमेत जटिल बन्न सक्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

सहभागी स्वास्थ्यकर्मीहरूले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग तथा सिफारिस नगर्ने, आवश्यक अवस्थामा मात्र निर्धारित मात्रामा प्रयोग गर्ने र औषधिको दुरुपयोग रोक्न स्वास्थ्यकर्मी तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

एन्टिमाइक्रोबियल प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको अवस्थामा यसको रोकथामका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र आम नागरिक सबै जिम्मेवार बन्न आवश्यक रहेको कार्यक्रमले जोड दिएको छ।

एन्टिबायोटिक औषधि आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्ने, आफूखुसी औषधि किनेर नखाने तथा अरूलाई सिफारिस नगर्ने बानीले औषधिको प्रभावकारिता जोगाउन महत्वपूर्ण सहयोग पुर्याउँछ।









