
घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न मंसिर ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने
चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सार्वजनिक सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
कार्यालयका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको अवस्थालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गर्न लागिएको हो ।
उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक बन्द हुने समयतालिका पालना गरी यात्रा व्यवस्थापन गर्न सम्बन्धित सबै सवारी चालक, यातायात व्यवसायी तथा यात्रुलाई प्रशासनले अनुरोध गरेको छ ।
सडक बन्द तथा पहिरो व्यवस्थापनसम्बन्धी थप जानकारी, समन्वय र सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा सडक बन्द हुने अवधिमा सबैलाई सहयोग र समन्वय गरिदिन आग्रह गरिएको छ ।










