गाउँघरबाट हराउँदै दाइँ गर्ने परम्परा, आधुनिक कृषि प्रविधिले फेरियो खेती प्रणाली

-


     सुजन आचार्य     
     मंसिर ६ गते २०८३ मा प्रकाशित


बागलुङ, मंसिर ५
कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएपछि गाउँघरमा परम्परागत रूपमा गरिँदै आएको दाइँ गर्ने चलन हराउँदै जान थालेको छ।

खेतबारी जोत्न र धान झार्न गोरुको प्रयोग गर्दै आएका किसानले अहिले गोरुको विकल्पमा ट्याक्टर, हाते ट्याक्टर तथा मिनी थ्रेसरलगायतका कृषि उपकरण प्रयोग गर्न थालेपछि पुर्खौंदेखि चल्दै आएको दाइँ गर्ने परम्परा लोप हुने अवस्थामा पुगेको हो।

आधुनिक कृषि प्रविधिको प्रयोगले किसानको श्रम, समय र लागत घटाउन सहयोग पुर्‍याएको छ। तर प्रविधिको विकाससँगै गाउँघरको मौलिक कृषि संस्कृति, परम्परा र पुर्खाले अपनाउँदै आएका सीपसमेत विस्तारै हराउँदै जान थालेका छन्।

मंसिर महिना किसानका लागि धान काट्ने, झाँट्ने, परालको दाइँ लगाउने र परालका टौवा बनाउने समय हो। विगतमा किसानले गोरु खोजेर ल्याउने, गोरुलाई धानको कुन्यु वरिपरि घुमाएर दाइँ गर्ने र धान तथा पराल छुट्याउने गर्थे। गाउँघरमा दाइँ गर्ने समयमा देखिने चहलपहल र सामूहिक सहभागिता ग्रामीण जीवनको एउटा महत्त्वपूर्ण विशेषता थियो।

तर पछिल्लो समय गोरु पाल्ने किसानको सङ्ख्या घट्दै गएपछि परम्परागत रूपमा दाइँ गर्ने चलन पनि हराउँदै गएको छ। अहिले गाउँघरमा एकाध किसानले मात्रै यो परम्परा पछ्याएको देखिन्छ।

आधुनिक कृषि प्रविधि अपनाउनु समयको आवश्यकता भए पनि त्यससँगै आफ्नो मौलिक परम्परा र कृषि संस्कृतिको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ। स्थानीय तह, कृषि शाखा, विद्यालय तथा समुदायले नयाँ पुस्तालाई दाइँ गर्ने परम्पराको महत्त्व बुझाउने, पुराना कृषि औजार र प्रविधिको संरक्षण गर्ने तथा स्थानीय कृषि संस्कृतिलाई पर्यटनसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ।

किसानलाई गोरुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले केही स्थानीय तहले हलगोरु पाल्ने किसानलाई नगद सहयोग उपलब्ध गराउने कार्यक्रमसमेत ल्याएका छन्। तर यस्ता कार्यक्रम प्रभावकारी हुन नसक्दा गाउँघरमा गोरु पाल्ने क्रम घट्दै गएको छ।

गाउँका आँगनमा परालका थुप्रा अझै देखिन्छन्, तर गोरु घुमाएर दाइँ गरेको दृश्य भने विस्तारै हराउँदै गएको छ। आधुनिकता र प्रविधिको प्रयोगलाई निरन्तरता दिँदै पुर्खाले हस्तान्तरण गरेको कृषि संस्कृति र परम्परालाई कसरी जोगाउने भन्ने प्रश्न अहिले चुनौतीका रूपमा देखिएको छ।

हिजो गाउँको पहिचान बनेको दाइँ गर्ने परम्परा भोलिका पुस्ताले किताब र तस्बिरमा मात्रै हेर्नुपर्ने अवस्था आउन नदिन स्थानीय समुदाय, किसान र सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ।।