
चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभएकाे छ ।
चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिनुभयो ।
लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा संघ/संस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ । भेटघाटका क्रममा बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता दिने विषयमा समेत अन्तरक्रिया गरिने भएको छ ।
लक्की सांस्कृतिक कार्यक्रमको बारेमा प्रचार गर्नका लागि चितवनबाट सुरु हुने भेटघाट तथा अन्तरक्रिया काठमाडौँ, पोखरा, बागलुङ, बेनीलगायत देशका मुख्य ठाउँहरुमा हुने उहाँले बताउनुभयो ।
कार्कीले ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताउनुभयो । बागलुङमा चैते दसैँको अवसरमा आयोजना गरिने लक्की सांस्कृतिक कार्यक्रममा आउने दर्शकहरुले निःशुल्क सहभागिता जनाउन पाउने कार्कीले बताउनुभयो ।अबको केही दिनमा चितवनमा औपचारिक कार्यक्रम गर्दै भेटघाट तथा अन्तरक्रियाको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो ।
आफ्नो बेग्लै महत्व र इतिहास बोकेको मेलाले धार्मिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस मेलामा देशभरिबाट तथा भारतबाट समेत भक्तजन आउने गरेकाले पनि लक्की सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्कीको भनाइ छ । तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्लको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । चैते दसैँमा आयोजना हुने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकी आदि बस्तुको किनमेल हुने गरेको छ ।












