जनताको फोन नउठ्ने गुनासाबीच सांसद खड्काले सामाजिक सञ्जालमार्फत मागे सुझाव

-


     हिड्न खबरदाता     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २९
बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग समस्या, गुनासा र सुझाव संकलन गर्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद खड्काले प्रतिनिधिसभाको बैठक, संसदीय समिति तथा अन्य जिम्मेवारीका कारण सबैसँग प्रत्यक्ष फोन सम्पर्क वा भेटघाट गर्न सधैं सम्भव नहुने उल्लेख गर्दै आफ्नो सचिवालयमार्फत समेत नागरिकका गुनासा र सुझाव प्राप्त गर्न सकिने बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा उनले बागलुङ–१ का मतदाता तथा सर्वसाधारणलाई निर्वाचन क्षेत्रसँग सम्बन्धित समस्या, सुझाव र जिज्ञासा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्। प्राप्त विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, आवश्यक पहल गर्ने तथा समन्वय गर्ने कार्यमा आफू र सचिवालय सक्रिय रहने उनको भनाइ छ।

तर सांसद खड्काको यो आग्रहसँगै स्थानीय तहमा फरक प्रतिक्रिया पनि देखिएको छ। कतिपय नागरिकले सांसदलाई प्रत्यक्ष सम्पर्क गर्न कठिन हुने गरेको गुनासो गर्दै आएका छन्। फोन सम्पर्क सहज नहुने र नागरिकका विषयमा पर्याप्त संवाद हुन नसकेको भन्दै सामाजिक सञ्जालमै प्रश्न उठ्न थालेका छन्।

निर्वाचनका बेला गरिएका प्रतिबद्धताको कार्यान्वयन, स्थानीय विकासका मुद्दा तथा जनतासँगको प्रत्यक्ष सम्बन्धलाई लिएर समेत सांसद खड्कामाथि आलोचना हुने गरेको छ। यद्यपि, ती आलोचनाबारे सांसद खड्काले औपचारिक प्रतिक्रिया दिएका छैनन्। पार्टीमा समेत उनले फाेन नउठाउने गुनासो बढेपछि केही समययता खड्काले जिल्ला पार्टीको लागि छुट्टै माेवाइल नम्बर दिएको उक्त नम्बरमा फाेन गरेको खण्डमा फाेन उठाउने फाेन नउठेको खण्डमा कल ब्याक गर्ने गरेको रास्वपा बागलुङले जनाएको छ ।

यसैबीच, उनले सार्वजनिक गरेको सचिवालयको सम्पर्क नम्बरमार्फत प्राप्त सुझाव र गुनासाको सम्बोधन कसरी हुन्छ भन्ने विषयलाई लिएर स्थानीयस्तरमा चासो बढेको देखिन्छ।