
काठमाडौं, भदौ २९
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा हरितालिका तीज–२०८३ को अवसर पारेर काठमाडौंको देवपाटनस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा निःशुल्क वृहत् स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

‘Leading With Purpose’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा सर्वसाधारणलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा शुद्ध खानेपानी वितरण गरिएको आयोजकले जनाएको छ। शिविरमा मधुमेह तथा रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच र विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो।


कार्यक्रममा पशुपतिनाथ दर्शन तथा तीज पर्वका अवसरमा मन्दिर क्षेत्रमा आएका श्रद्धालु, स्थानीय बासिन्दा तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए। बढ्दो गर्मी र भीडभाडलाई मध्यनजर गर्दै शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ।

लायन्स क्लब अफ काठमाडौं गोंगबु, मनमैजु, मेट्रो सिटी, नयाँबजार, कोसेली, जागृति, हाम्रो संगम, टेम्पल सिद्धि विनायक, आबद्धता, आशिर्वाद, सिद्धि, टेम्पल मञ्जुश्री, टेम्पल नीलबाराही, टेम्पल चाँगुनारायण, डायमण्ड नारी शक्ति, आगन, अशुतोष, सर्राफ, बेथेल र गजाननलगायत क्लबहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो।

आयोजकका अनुसार लायन्सको अन्तर्राष्ट्रिय अभियान “We Serve” लाई व्यवहारमा उतार्दै समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक सेवाबाट वञ्चित नागरिकसम्म स्वास्थ्य पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले सामाजिक सेवा, स्वास्थ्य, वातावरण तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।













