
बागलुङ, भदौ ३०
काठेखोला गाउँपालिका–१ पाला धिमिमा जनसेवा युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको तीज मेलाले उत्साहपूर्ण माहोल सिर्जना गरेको छ। मेलाको चौथो दिन हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।
आयोजकका अनुसार मेलाअन्तर्गत खुला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताका दोस्रो चरणका खेल सञ्चालन गरिएका थिए। साथै, खुला सामूहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो।
प्रतियोगितामा अमर आदर्श बोर्डिङ स्कुल, बागलुङ प्रथम भएको छ भने मगर सांस्कृतिक संरक्षण समाज द्वितीय स्थान हासिल गर्न सफल भएको छ।
मेलाको पाँचौँ दिन अर्थात् आज खुला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल सञ्चालन गरिने भएको छ। आजै मेलाको मूल समारोह पनि आयोजना गरिँदै छ।
मूल समारोहलाई थप आकर्षक बनाउन चर्चित लोकदोहोरी गायक दीपलप खातीको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। ‘नरिसाउन सानो कुरैमा’, ‘गण्डकी’ र ‘दरम खोला तिरैजाम’ लगायतका लोकप्रिय गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित खातीको प्रस्तुति मेलाको प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ।
तीज पर्वको अवसरमा स्थानीय कला, संस्कृति, खेलकुद तथा मनोरञ्जनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा स्थानीयवासी तथा विभिन्न क्षेत्रका दर्शकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
जनसेवा युवा क्लबले तीज मेलाको मूल समारोहमा सहभागी भई कार्यक्रमको सफलतामा साथ दिन सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा स्थानीयवासीलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।









