झोरा तीज गीत प्रतियोगितामा शान्ति मावि प्रथम, २५ हजार पुरस्कार

-


     सुजन आचार्य     
     भाद्र ३० गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ ३०

ग्रामीण जनसहभागिता विकास केन्द्र, बरेङको आयोजनामा सम्पन्न झोरा तीज गीत प्रतियोगितामा जैमिनी नगरपालिका–१ स्थित श्री शान्ति माध्यमिक विद्यालय प्रथम भएको छ।

बरेङडाँडामा आयोजित खुला तीज गीत प्रतियोगितामा विद्यालयले उत्कृष्ट गीत तथा नृत्य प्रस्तुति प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेको हो। प्रथम स्थानसँगै विद्यालयले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले मौलिक तीज संस्कृति झल्किने आकर्षक प्रस्तुति दिएका थिए। शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रस्तुति निर्णायक मण्डल र दर्शकबाट समेत उच्च प्रशंसा बटुल्न सफल भएको थियो।

विद्यालयको सफलतामा विद्यार्थीहरूको मेहनत, प्रतिभा र अनुशासनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। साथै प्रस्तुति तयारीका क्रममा मार्गदर्शन गर्ने प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारको योगदानको पनि प्रशंसा गरिएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको अवसरमा विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ।