
काठमाडौं, भदौ २९
हरितालिका तीज पर्वको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं मानस्लु गणेश हिमाल ले श्रद्धालु भक्तजनका लागि निःशुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बालाजु बैसधारा मन्दिर क्षेत्र, काठमाडौंमा आयोजित कार्यक्रममा तीज पर्व मनाउन आएका सयौं श्रद्धालुलाई शुद्ध तथा सुरक्षित खानेपानी वितरण गरिएको क्लबले जनाएको छ।
क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा भक्तजनलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले खानेपानी वितरण गरिएको थियो। तीज पर्वका अवसरमा मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड हुने भएकाले उनीहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

लायन्स इन्टरनेशनलको “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मूल भावनाअनुरूप सञ्चालन गरिएको उक्त कार्यक्रमले सामाजिक सेवाप्रति लायन्स क्लबको प्रतिबद्धतालाई थप उजागर गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका आयोजकहरूले धार्मिक तथा सांस्कृतिक पर्वहरूमा समुदायसँग प्रत्यक्ष जोडिने यस्ता सेवामूलक गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन्।
मानव सेवा नै लायन्सको मूल मन्त्र रहेको उल्लेख गर्दै क्लबले समाजसेवा, मानवीय सहायता तथा समुदायमुखी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।










