सार्वजनिक बिदामा सरकारी कार्यालय खुल्ला तर सेवा लिने  सेवाग्राही छैनन्

-


     राजेशचन्द्र राजभण्डारी     
     फागुन २५ गते २०८० मा प्रकाशित


बागलुङ /सरकारले जनतालाई सार्वजनिक बिदाको दिनमा पनि सरकारी कार्यालय संचालन गरि सेवाग्राहीलाई सर्वसुलभ रूपमा सेवा दिने निति ल्याएपनि त्यो प्रभावकारी हुन नसक्दा सरकारले ल्याएको कार्यक्रम मात्रै लाेकप्रियता हासिल गर्न ल्याएको देखिन्छ । सार्वजनिक विदामा कार्यालय संचालन हुदा समेत सेवाग्राहीलाई खासै चासाे देखिदैन ।

सरकारले जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय नापी कार्यालय लगायतका केही महत्त्वपूर्ण मानिएको सरकारी कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि संचालन गर्ने निति अनुसार बिदाको दिनमा खुलेपनि कार्यालयमा सेवाग्राही नआउदा सधैं भिडभाड हुने कार्यालय सुनसान देखिएका छन् ।

अघिपछि सयौं सेवाग्राहीकाे चाप हुने जिल्ला प्रशासन कार्यालय बागलुङमा सार्वजनिक विदाकाे दिन जम्मा जम्मी १ जना मात्र सेवाग्राही सेवा लिन पुगेकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा अघिपछि दैनिक रूपमा राहदानीकाे लागि फाेटाे खिचाउन ५० / ६० जना राहदानी लैजान १०० जनासम्म आउने गरेकोमा सार्वजनिक बिदाको दिनभने एक दुई जनामात्र आउने गरेको प्रशासनका कर्मचारी दीपक पन्तले बताए ।

अघिपछि कामको भिडभाड हुने मालपोत कार्यालयमा एकजना पनि सेवाग्राही नआएको सार्वजनिक विदा भनेपछि कार्यालयमा काम हुदैन भन्ने मानसिकताकाे कारणले पनि काम गरेको हुन सक्ने मालपोत कार्यालयका नासु रामबहादुर थापाले बताए ।

सरकारले निर्णय गरेपछि २०८० बैशाख देखि शनिबार बाहेकका सार्वजनिक विदाकाे दिनमा कार्यालय खाेलेर सेवा दिन थालेपनि अघिपछि भन्दा सेवाग्राही न्युनमात्र आउने गरेको अघिपछि ५० वटा नागरिकता जाने कार्यालयमा आज एकवटा मात्र नागरिकता गएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद अर्यालले बताए ।

सरकारले जनतालाई सार्वजनिक विदाकाे दिनमा समेत सेवा दिने निति ल्याएको झन्डै एक बर्ष बित्न लाग्दा समेत कार्यक्रम प्रभावकारी हुन सकेको देखिदैन ।सेवा लिनुपर्ने सेवाग्राही स्वंयम सार्वजनिक विदाकाे दिनमा १ प्रतिशत पनि नपुग्दा सरकारले ल्याएको सेवा भन्दा पनि सरकारकाे अनावश्यक खर्च बढेको देखिन्छ ।

सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खुल्दा सवारीसाधनकाे इन्धन खर्च कार्यालयमा बिजुली पानि टेलिफोन लगायतमा अनावश्यक खर्च भने बढेको देखिन्छ ।
अधिकांश कार्यालय बिदा हुने तर केही कार्यालय खुल्दा कर्मचारी काम भएपनि नभएपनि अनिवार्य रूपमा जानुपर्दा
अर्को समस्या थपिएको कारण सरकारी कर्मचारीहरू जिल्ला प्रशासनमा सरूवा हुन समेत नमान्ने अवस्था सृजना भएको देखिन्छ ।सार्वजनिक विदामा कार्यालय संचालन हुन्छ भन्ने जानकारी समेत धेरैलाई नहुदा पनि यो समस्या सृजना भएको देखिन्छ ।