
फागुन २० दाङ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभयाे ।
शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो।
प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो।
प्रचण्डले , “मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु। प्रतिकूल परिस्थितिका बाबजूद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ। यसपटकको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिनेछ। त्यसले देशमा नयाँ वातावरण बनाउनेछ।”
यसअघि प्रधानमन्त्री प्रचण्डले बागलुङको पञ्चकोटमा जारी महायज्ञ, लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक र लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो।
अगुवा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं सञ्चारमन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरा लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।









