लोकतन्त्रवादी जनजाति महासंघको अध्यक्षमा खिम पुन

-


     हिडन खबर    
     फागुन १९ गते २०८० मा प्रकाशित


बागलुङ / लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेसन बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।

अधिवेशनको नेपाली काँग्रेस केन्द्रीय सदस्य किरणराज पौडेलले एक कार्यक्रम बिच उद्घाटन गर्दै काँग्रेसलाई चलायमान र गतिवान बनाउनका लागि भातृ संगठनहरु चुस्त र गतिवान हुनुपर्ने बताए । ‘पार्टीलाई जनताका माझमा बलियो बनाउनका लागि काँग्रेसले विभिन्न भातृ तथा सुभेच्छुक संस्थाहरु निर्माण गरेको छ,’ उनले भने–‘पार्टीलाई सही गतिमा अगाडि बढाउनका लागि भातृ संस्थाहरु चलायमान हुनुपर्छ ।

उनले नेपाली काँग्रेस देशको हरेक परिवर्तनको संवाहक पार्टी भएको र देशको विकासका लागि पनि काँग्रेसले नै भूमिका खेल्ने बेला आएको पाैडेलले बताए । ‘हरेक परिवर्तनमा काँग्रेसले निर्णायक भुमिका खेलेको छ’ उनले भने–‘देश विकासमा पनि काँग्रेसले नै भूमिका खेल्नुपर्नेछ । हाम्रो आम कार्यकर्ताले जनतामा आशा जगाउने काम गर्नुपर्छ । उदाहरण बनेर समाजलाई अगाडि बढाउनुपर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जितबहादुर शेरचनले नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय प्रतिनिधि मोहन छन्त्याल लगायतका बक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङका कार्यवाहक अध्यक्ष खिम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाली काँग्रेस जिल्ला सल्लाहकार सदस्य कृष्णशंकर श्रेष्ठ, र सञ्चालन नेपाली काँग्रेस ताराखोला गाउँपालिका—१ का सभापति सागर घर्तीले गरेका थिए ।

अधिवेसनले खिम पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भीमबहादुर रोका, तमसम राना, सचिवमा लालकुमार शेरचन, हिराकुमारी छन्त्याल, सहसचिवमा सहसचिवमा टेकबहादुर सिंजाली, दिलकुमारी घर्ती रहेका छन् ।

समितिको सदस्यहरुमा निरा थापा, सुदिक्षा थापा, शोभा छन्त्याल, टिकाराम पुन, कृष्ण अठारे, दलबहादुर घर्ती, नरबहादुर थापा, पूर्ण बहादुर थापा र प्रकाश गुरुङ रहेका छन् ।