
बागलुङ /बागलुङको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानिय तहको क्षेत्राधिकार भित्र रहेर थुप्रै चुनौतिको सामना गर्दै नगरबासी नागरिकलाई सेवा प्रवाहमा प्रतिवद्व रहेको बताउनु भएको छ ।
जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, बागलुङको ५९ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गैरेले शैक्षिक क्षेत्रको विकास र रुपान्तरणमा नगरपालिका निरन्तर लागि परिरहेको बताउनुभयो ।
गलकोट नगर क्षेत्रका कुनैपनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उदेश्यले नगरपालिकाले गम्भिर भएर कार्य सम्पादन गरिरहेको गैरेले बताउनु भयो । “विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदा मर्ज गर्नुपर्ने रहर नभई स्थानिय सरकारको बाध्यता हो यसलाई आम नागरिकले सकरात्मक रुपमा लिनुपर्ने बताउनु भयो ।
शिक्षा र स्वास्थ्यलाई समय सापेक्ष रुपान्तरण गर्ने कुरामा नगरपालिकालाई नागरिकको सहयोग र सदभाव मिलिरहेको भन्दै नगरबासीमा धन्यवाद समेत ज्ञापन गर्नुभएकाे थियो ।
गैरेले विद्यालयको स्थापनाकाल देखि वर्तमान सम्म अतुलनिय योगदान गरि दिवंगत हुनुभएका शिक्षाप्रेमी तथा समाजसेवी प्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्नुभएकाे थियोे । उहाँले विद्यालयको भविष्य उज्जवल र सुन्दर रहेको भन्दै शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले शैक्षिक गुणस्तर अभिवृद्विमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक बुद्धिप्रसाद गौतमले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्य थम्मन थापा सन्देश, नेपाली कांग्रेस वडा नम्वर ७ का सभापति बसन्त केसी, जनजागृती माद्यमिक विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकी, शिव माद्यमिक विद्यालयका प्रधानध्यापक हरि चालिसे लगायतका बक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका अक्षयकोष दातालाई सम्मान गरिनुका साथै, बिभिन्न विधामा पुरस्कार र विद्यालयले सञ्चालन गरेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले नृत्य प्रस्तुती गरेका थिए ।
सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले ७२ लाखको लागतमा निर्मित ४ कोठे पक्की भवनको समेत उद्घाटन गर्नुभएको थियो । कार्यक्रम जनहित माद्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, शिक्षक कोपीला कार्की थापाको स्वागत र शिक्षक शुशिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।












