
बागलुङ । आधुनिकता संगै भएका युवा जनशक्ति राेजगारीकाे लागि बिदेशीने क्रम बढेसंगै गाउँ घरमा खेतीपाती गर्ने किसानले परम्परागत रूपमा पालिने गाेरू
जाेतेर खेती गर्न छाडेपछि किसानलाई गाेरू पालेर खेती गर्न प्राेत्साहन गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने कार्यक्रम ल्याएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलव्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए ।
१० वटा वडा रहेको जैमिनी नगरपालिका भरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका थिए । पेश भएका प्रस्ताव मध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही रु दश हजारका दरले प्रोत्सान उपलब्ध गराइने भएको हो ।
कृषिमा आधुनिक हाते ट्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हराउदै गएको “गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।” आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाले जनाएको छ । गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन्, व्यावसायिक किसानलाई भन्दा आफ्नो लागिमात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धीमूलक हुन्छ ।
नगरपालिकाभित्र झण्डै तीन सय बढी हाते ट्याक्टर लगायत सामग्री खनजोतका लागि प्रयोगमा रहेका छन् । आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ । त्यस्तै जैमिनी नगरपालिकाले बीउको रुपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ । मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष राखेको नगरपालिकाले बीउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो ।
चालु आर्थिक बर्षमा नगरभरिका २० जना किसानलाई जनही रु १० हजारका दरले प्रोत्साहनउपलब्ध गराउन लागिएको ढकालले बताए । हलगोरु र राँगा पाल्ने किसानको तथ्याङ्क तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जैमिनी नगरपालिकाका बेँसी फाँटमा हाते ट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ । पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको सङ्ख्यामा कमी आउँदा गोरु पाउनसमेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले बताए ।













