बागलुङमा उल्लासमय होली (तस्बिर सहित)

-


     हिडन खबर    
     चैत्र ३ गते २०७८ मा प्रकाशित


बागलुङमा हर्षोल्लासकासाथ २०७८ सालको होली पर्व मनाइएको छ । बिहीबार बिहानैदेखि बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा सर्वसाधारण एकआपसमा भेला भई रंग खेलेर होलीको शुभकामना आदनप्रदान गरेका छन् ।

होलीको अवसरमा बागलुङ बजारमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएको थियो ।

बजारको मुख्य सडक हल्लनचोकमा कालिका भगवति युवा क्लवले आयोजना गरेको म्युजिक कन्सर्टमा सयौं युवायुवतीहरुको सहभागी रहेको थियो ।
तस्बिरमा म्युजिक कन्सर्ट:

त्यस्तै बागलुङ बजारको देउराली चोकमा नेवारी परम्पराको जगेर्ना गर्ने उदेश्यले नेपाल भाषा मंका: खल बागलुङको आयोजनामा होली बिशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो । बागलुङ नगरपालिका-३, नारायण चोकमा आयोजना गरिएको कार्यक्रममा नेवारी समुदायका बाजागाजा सहित गायन एवं नृत्य सँगै एकआपसमा रङ्ग लगाएर होली मनाइएको नेपाल भाषा मंका: खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
कार्यक्रममा आगन्तुकहरुलाई नेवारी परम्पराका विभिन्न परिकार सहित सगुनको व्यवस्था समेत गरिएको मंका खलका सचिव सुदीप राजभण्डारीले बताउनुभयो ।
तस्बिरमा होली बिशेष शुभकामना आदानप्रदान कार्यक्रम:

होली पुर्णिमाको अवसरमा गुठी युवा क्लवको आयोजना विभिन्न कार्यक्रम समेत आयोजना गरिएको थियो ।
बागलुङ नगरपालिका-३, चिप्लेटी बसपार्कमा घैंटोफोर, म्युजिकल चियर र स्लो बाइक रेस प्रतियोगिता सम्पन्न गरिएको क्लवका सल्लाहकार दिपेन्द्र रुचालले बताउनुभयो ।

धैँटोफोरमा पुरुष तर्फ निरज किसान र महिला तर्फ रुबी रुचाल प्रथम भएका थिए । त्यस्तै पुरुष तर्फको म्युजिकल चियरमा सुरेश किसान र महिला तर्फ पुनम बिकले प्रथम भएको र स्लो बाइक रेसमा सुवास रुचालले प्रथम स्थान हासिल गरेको सल्लाहकार रुचालले हिडन खबरलाई बताउनुभयो । विजयीहरुलाई नगद सहित सम्मान गरिएको क्लवले जनाएको छ ।

होलीको मौका छोपी अवाञ्छीत गतिविधि हुन नदिन बागलुङ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । बागलुङ बजारका दर्जनौं स्थानमा प्रहरी परिचालन गरिएको थियो ।
होलीको अवसरमा हुनसक्ने गलत क्रियाकलाप नियन्त्रण गर्न दुई दिन अगाडि देखिनै सुरक्षा व्यवस्था कडा पारिएकाले कुनैपनी अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक बिजय भण्डारीले बताउनुभयो ।