न्याय सार्वभौमिक र सबैको लागि समान हुन आवश्यक छ पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

-


     हिडन खबर    
     फागुन १४ गते २०८० मा प्रकाशित


बागलुङ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्याय कसैको नीजि विषय नभएको बताउनु भएको छ ।

बागलुङको धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोटमा संचालित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञको छैठौं दिन आयोजित राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।

श्रेष्ठले न्याय केवल व्यक्तिको लागि मात्र नभई प्रकृति र जलचर, प्राकृतिक सम्पदाहरुलाई आवश्यक रहेको भन्दै न्याय मान्य र न्याय दिने विच क्षेमताको कुरा गर्न नहुने बताउनु भयो ।

श्रेष्ठले न्याय सार्वभौमिक हुनु आवश्यक रहेको र सबैको लागि समान हुन आवश्यक रहेको चर्चा गर्नु भयो । मानिसहरुले आधुनिकताका नाममा प्रकृतिमाथि अन्याय गरेकोले जलवायु र पर्यावरणलाई न्याय हुन आवश्यक रहेको बताउनु भयो ।

कालिगण्डकी संरक्षण नभए विश्वमा यहाँ मात्र पाइने शालग्राम संरक्षण नहुने र शालग्राम संरक्षण नभएको धार्मिक क्षेत्रको महत्व पनि नहुने बताउनु भयो । प्राकृतिक सम्पदाको संरक्षण र शालग्राम संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

कानुनलाई आधुनिकताको नाममा काम गर्दा कहि कति न्याय मरेको भन्दै सबैलाई न्याय हुने खालको वृहत सोच आवश्यक रहेको बताउनुृु भयो ।

जमिन र प्रकृतिक सम्पदाहरु हिमाल पहाड र तराईका साथै समग्र सम्पदालाई न्याय आवश्यक रहेको बताउनु भयो । कानुनी राज्यमा सबैले न्याय पाउने काममा राज्य गम्भीर बन्न आवश्यक रहेको समेत धारण राख्नु भयो ।

सम्मेलनमा पूर्व प्रहरी महानिरीक्षक धिरज प्रसाद सिहं, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ, सुरक्षा विद विवेक क्षेत्री, मेख केसी लगायतले राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दतीका विषयमा धारणा व्यक्त गर्नुभएको थियोे ।

पंचकोट धामका परिकल्पनाकार तथा महायज्ञका संकल्पकर्ता स्वामी कमलनयनाचार्यको अध्यक्षता र नेपाल कानुन समाजकका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

महायज्ञमा फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग तथा खेल सम्मेलन, फागुन १७ गते पूर्विय चिकित्सा पद्दती र जनस्वास्थ्य विकास सम्मेलन हुने भएको छ ।

त्यस बाहेक फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तिय संस्थाको योगदान, फागुन १९ गते समावेशिताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ ।

फागुन २१ गते समाज सेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा वौद्ध धर्म र धार्मिक स्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको हो ।

यसबाहेक दैनिक पाठ पारायण प्रवचन हवन, दिप प्र्रज्वलन लगायतका कार्यक्रम संंचालन भईरहेका छन् । महायज्ञ यहि फागुन २३ गते समापन हुने छ ।