कालञ्जर पर्वतमा बैशाख १ गतेदेखि विराट महायज्ञ हुँदै

-


     हिडन खबर    
     चैत्र १ गते २०७८ मा प्रकाशित


पर्वतको जलला गाउँपालिकाको कालञ्जर पर्वतमा आगमी बैशाखमा धार्मिक महायज्ञ गरिने भएको छ ।

विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गर्ने तयारी गरिएको हो ।

दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा विराट ज्ञान महायज्ञ आयोजना गर्ने भनिएपनि कोरोना महामारीको कारण महायज्ञ आयोजना हुन सकेको थिएन ।

आगामी बैशाख १ गतेदेखि ५ गतेसम्म महायज्ञ आयोजना गरिन लागिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिनुभयो ।

बैशाख १ गतेदेखि संचालन हुने महायज्ञले कालञ्जर क्षेत्रलाई हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रका रुपमा परिचित गराउने विश्वास व्यक्त गर्नुभयो । अहिले कालञ्जर क्षेत्रमा मोटरबाटो पुगिसकेको छ भने पर्यटकीय र जैविक विविधतालाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ पनि तयार हुन लागेको बताउनु भयो ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरि जलजला र सिंगो पर्वतको आर्थिक समृद्धिमा टेवा पुर्याउने अभियान बोकेर हिँडेका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाको रुपमा लाने योजना बनाएको बताउनु भयो । अध्यक्ष मल्लले सोमवार मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य सहित एनआरएनका विनोद कुँवर र डाक्टर संगीता कार्कीलाई लिएर हेलिकप्टरबाट कालञ्जर क्षेत्र र यज्ञस्थलको अलोकन गर्नुभएको छ । उहाँले मुक्तिनाथ जाने तीर्थयात्री र पर्यटकलाई कालञ्जर पर्वत र हम्पालसँग जोड्न मिलनचोक-हम्पाल-मुक्तिनाथ केवलकारको परिकल्पना गरि लगानीकर्ताहरूलाई आकर्षित गर्न लागिएको बताउनु भयो ।

‘कालञ्जर क्षेत्र विभिन्न धर्म पुराणहरुमा बर्णन गरिएको ऋषिहरुको पवित्र तपोभूमि भएरपनि यसको महत्व थाह नभएर ओझेलमा परेको थियो अब विश्वभरका धार्मिक पर्यटकहरुलाई कालञ्जर क्षेत्रमा ल्याउनेगरि अभियान शुरु भइसकेको छ ।

हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । धेरै धर्मग्रन्थहरूमा कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ ।

पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको थियो । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।

समुन्द्री सतहदेखि ३३ मिटरको उचाइमा रेहेको यो क्षेत्र प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सिमसार क्षेत्र पनि हो । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दावी छ ।

स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भृमिमै तपस्या गर्नुभएको थियो । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।

मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि निरकण्ठेश्वर शंकर भगवानको मन्दिर बनाइएको छ। कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ।

प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ। विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन्।