३२ लाख आर्थिक संकलन गर्दै रत्नेचौर धार्मिक महोत्सव सम्पन्न

-


     हिडन खबर    
     फागुन ३० गते २०७८ मा प्रकाशित


म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा आयोजित धार्मिक महोत्सवमा करिब ३२ लाख आर्थिक संकलन भएको छ । रत्नेचौर स्थित पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञमा ३१ लाख ७० हजार १०३ बराबर दान संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।

लक्ष्मीहरि भगवानको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा आयोजित महायज्ञ सफल भएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले जानकारी दिनुभयो ।

उहाँले अर्थ संकलनका लागि भन्दा पनि मन्दिरको महिमा र स्वामीजी महाराजको नाक्षत्र शताब्दी पुगेको अवसरमा ज्ञान महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

महायज्ञमा सबैभन्दा धेरै स्वामी हिमालय बाबाले ६ लाख ६६ हजार ६६६, कमला कुँवर १ लाख २९ हजार ३४५, लालबहादुर न्यौपाने १ लाख १११ हजार, बलबहादुर थापा १ लाख २५ रुपैयाँ, बसन्त बोगटी गुठी कोषबाट ९७ हजार ७ सय ७७ दान गर्नुभएको मन्दिरका सचिव एवम् मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवि बोगटीले जानकारी दिनुभयो ।

महायज्ञले रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फि विकासका लागि सहयोग पुगेको वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

भौगोलिक रुपमा रमणिय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न संस्थापकाचार्यको समेत विषेश उपस्थिति र प्रवचन रहेको थियो । पछिल्लो समय रत्नेचौर तोरीबारीकै कारण भाइरल भइरहेको छ भने धौलागिरी क्षेत्र भित्र मानव निर्मित सबैभन्दा पुरानो बुढोपोखरी, निर्माणधिन अवस्थामा रहेको झोलुङे पुलका साथै खेलकुद मैदानले समेत घुम्न जानेको आर्कषण बढेको छ ।