
बागलुङ नगरपालिका वडा नम्बर ४ जनप्रतिनिधि बिहिन बनेको छ ।
सोही वडामा पर्ने दावगरा बसपार्क निर्माण अन्तर्गत जग्गा व्यवस्थापनमा अनियमितता भएको भनि भन्दै नगर उपप्रमुख सहित वडा अध्यक्ष निलम्बनमा परेपछि वडाका ३ जना जनप्रतिनिधिहरुले सामुहिक राजिनामा दिएसँगै जनप्रतिनिधि बिहिन बनेको हो ।
बागलुङ नगरपालिकाकाे गाैरवकाे योजनाकाे रूपमा मानिएको दावगरा बसपार्ककाे जग्गा ब्यबस्थापनमा ५ लाख ९० हजार रूपैयाँ अनियमितता भएको आराेपमा जनप्रतिनिधि सहित ८ जना माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरे पछि बागलुङ नगरपालिका वडा नम्बर ४ जनप्रतिनिधि बिहिन भएको छ ।
बसपार्क जग्गा ब्यबस्थापन गर्ने गराउने सवालकाे बिषयमा बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र बहादुर खड्का, वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव बहादुर केसी भ्रष्टाचारकाे आराेप लाए संगै पदबाट निलम्बित बनेपछि वडा नम्बर ४ का ३ जना जनप्रतिनिधिले आफ्नो पदबाट लिखित रूपमा राजिनामा दिएका छन् । वडा सदस्य बाणिन्द्र बहादुर क्षेत्री, महिला सदस्य पवित्रा थापा, दलित सदस्य अमृता बराइलीले २०७८ फागुन २३ गतेकाे मिति नगर प्रमुख जनकराज पाैडेल समक्ष राजीनामा पेश गरेका छन् ।

स्थानीय जनप्रतिनिधिकाे हैसियतले बागलुङ नगरपालिका भित्र बन्दै गरेको बसपार्ककाे सवालमा काम सम्पन्न भएको भनी उपभोक्ता समितिले सिफारिस मागे अनुसार वडाले सबै प्रक्रिया पूरा भइ आएको बिषयमा सिफारिस दिएको आधारमा अहिले जनप्रतिनिधिलाई मुद्दा हाल्ने काम भएको हुँदा अहिले काम गर्ने वातावरण नभएको भन्दै बाँकी भएका ३ जना जनप्रतिनिधिले सामुहिक रूपमा राजीनामा दिएको कुरा पत्रमा उल्लेख गरिएको छ ।
बागलुङ नगरपालिकामा निर्माण हुन लागेको बसपार्ककाे लागि निशुल्क जग्गा दान गर्ने ब्यक्तिहरूकाे जग्गा घडेरी ब्यबस्थापन गरि फिर्ता गर्ने कामको सिलसिलामा पटकपटक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि यतिबेला बिशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएपछि यस काण्डमा ८ जना तानिएका छन् ।
बागलुङ नगरपालिकाका इन्जिनियर मनाेज शर्मा, बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारी, सव-इन्जिनियर घनश्याम रिजाल, उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, सचिव गुणनिधि शर्मा र काेषाध्यक्ष भीमकुमारी आचार्यले ५ लाख ९० हजार रूपैयाँ अनियमितता गरेको आराेपपत्र सहित मुद्दा दर्ता गरेपछि बागलुङ नगरपालिकाकाे गाैरवकाे योजना बागलुङ बसपार्क सञ्चालनमा नआउँदै विवादमा आएको छ ।
यसैपनि बिकास निर्माणका कामहरु ढिलासुस्तिमा हुने परम्परा जस्तै बनिरहेको अवस्थामा अनियमितता भएको भन्दै समयमै निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा नआउँदै विवादमा परेपछि बागलुङ बासी चिन्तित बनेका छन् ।









