परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री दाहाल

-


     हिडन खबरदाता     
     माघ १३ गते २०८० मा प्रकाशित


काठमाडौँ, १३ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभएकाे हाे ।

“देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उहाँले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड’ले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे थियो । 

“कतिपय अझै घाइतेका रुपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरुलाई घाइतेको सूचीमा समावेश गरिन्छ”, अध्यक्ष प्रचण्ड’ले भन्नुभयो, “सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।”

प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अध्यक्ष प्रचण्ड’ले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मा लिने विश्वास दिलाउनुभयो । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उहाँको भनाइ थियो ।

सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उहाँले अब सबै माओवादी विचारधारा केन्द्रिकृत हुने विश्वास व्यक्त गर्नुभयो । “समान त्याग र बलिदान गरेकाहरु एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्”, उहाँले भन्नुभयो, “त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ ।”

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पु-याउन आग्रह गर्दै उहाँले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताउनुभयो । 

शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । नेपालको शान्ति प्रक्रियाको मोडल बाह्य जगत्का लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।