
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–७, हिलेस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सत्यवती मन्दिरमा पूर्णिमाको अवसरमा विशेष पूजा–आराधना गरिएको छ।

यससँगै सत्यवती मेलाका अवसरमा संघर्ष युवा क्लबले आयोजना गरेका सम्पूर्ण कार्यक्रम पनि औपचारिक रूपमा सम्पन्न भएका छन्।

मंगलबार पूर्णिमाको अवसर पारेर मन्दिरमा परम्परागत धार्मिक विधिअनुसार विशेष पूजा गरिएको हो। पूजामा सहभागी भक्तजनहरूले देवी सत्यवतीप्रति श्रद्धा व्यक्त गर्दै विधिपूर्वक पूजाआराधना गरेका थिए। विशेष पूजाका कारण मन्दिर परिसर भक्तिमय बनेको थियो।

यसैबीच, सत्यवती मेलाको अवसरमा संघर्ष युवा क्लब, हिलेले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो। स्थानीय समुदाय, युवा तथा सरोकारवालाहरूको सहयोग र सहभागितामा मेला व्यवस्थित रूपमा सम्पन्न भएको क्लबले जनाएको छ।

सत्यवती मेला धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ। यस्ता मेलाले स्थानीय मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र समुदायबीच आपसी एकता तथा भाइचारा बढाउन सहयोग पुर्याउँदै आएका छन्।










