पत्रकारमाथिको धरपकडविरुद्ध पर्वतमा पत्रकार महासंघको धर्ना

-


     सुजन आचार्य     
     मंसिर १० गते २०८३ मा प्रकाशित


पर्वत । पत्रकारमाथि भइरहेको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सञ्चारगृहलाई त्रसित बनाउने गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएको छ।

महासंघले अघि सारेका माग सम्बोधन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सुरु गरेको आन्दोलनअन्तर्गत शाखाले विरोध प्रदर्शनसहित धर्ना दिएको हो।

धर्नामा सहभागी पत्रकारहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकड गर्ने, धम्की दिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्।

उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक अधिकार भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा, सञ्चारगृहको स्वायत्तता र नागरिकको सूचनाको हक सुनिश्चित गर्न राज्यसँग माग गरेका छन्।

पत्रकारमाथिको गैरकानुनी हस्तक्षेपले स्वतन्त्र पत्रकारिता मात्र नभई लोकतान्त्रिक व्यवस्था र नागरिकको सूचनाको अधिकारसमेत कमजोर बनाउने भएकाले सरकार गम्भीर बन्नुपर्ने महासंघको जोड छ।