
बागलुङ । नेपाल पत्रकार महासंघले अघि सारेका माग सम्बोधन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाब दिन बागलुङका पत्रकारले बुधबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा भएको धर्नामा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
महासंघले उठाएका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप, दबाब र अंकुश स्वीकार्य नहुने बताएका छन्।
धर्नामा सहभागी पत्रकारहरूले पत्रकारलाई निर्भयपूर्वक पेसागत जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउन तथा महासंघका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।
पत्रकारमाथि हुने दमन र धरपकडको विरोधस्वरूप प्रदर्शन गरिएको ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नाराले प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरूको एकजुटता प्रदर्शन गरेको छ।










