वडिगाड गाउँपालिका प्रमुखमा काङ्ग्रेसका ६ आकांक्षी

-


     राजनीतिक व्यूरो     
     फागुन २८ गते २०७८ मा प्रकाशित


देश संघीय व्यवस्थामा गएपछिको दोस्रो पटकको स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भए सँगै यतिबेला स्थानीय तहको निर्वाचन लड्नका लागि आकांक्षीहरू राजनीति भेटघाटमा ब्यस्त हुन थालेका छन् ।

एकातिर राजनैतिक दलहरू गाउँ गाउँमा संगठन एवं चुनावी वातावरण निर्माणका लागि दौडधुपमा छन् भने अर्कोतिर नगर तथा गाउँपालिकामा उम्मेदवार बन्नकोलागि उपल्लो तहका नेताहरू सँग लभिङमा व्यस्त छन् ।

बागलुङ जिल्लामा रहेका दश स्थानीय तहहरू मध्यको वडिगाड गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नकालागि ६ जना आकांक्षी देखिएका छन् ।

बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेस बागलुङका सचिव गण्डकी थापा अधिकारीले आफु सशक्त उम्मेदवार रहेको हिडन खबर सँगको कुराकानीमा बताउनुभयो ।

त्यस्तै उम्मेदवारका आकांक्षीमा गाउँपालिकाका उप प्रमुख अम्मर बहादुर श्रीष र वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेल, वडा नम्बर-७ का वडा अध्यक्ष कृष्ण गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण केसी र नेपाली काङ्ग्रेस वडिगाड गाउँपालिकाका प्रमुख सल्लाहकार हरिलाल खरेलले हिडन खबर राजनैतिक व्युरो सँगको फोन संवादमा उम्मेदवार बन्ने दावी गरेका छन् ।

पहिलो पटकको स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखमा तत्कालीन नेकपा सँग ५ सय २२ मतान्तरले पराजित भएको काङ्ग्रेस यसपटक भने आफ्नो पक्षमा नेतृत्व हातपार्ने योजनामा रहेको एक नेताको दावी छ ।