
जिल्ला प्रहरी कार्यालय बागलुङमा नव अगन्तुक प्रहरी प्रमुखले आफ्नो सक्रियता बढाएका छन् । नेपाल प्रहरी विषेश सुरक्षा गण वेलचौतारा तनहुँबाट सरुवा भइ जिल्ला प्रहरी कार्यलय बागलुङको प्रहरी उपरिक्षकको रुपमा आएका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले लागुऔषध दुर्व्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा सक्रियता बढाएका छन् ।
प्रहरीको सक्रियता पछि चोरी र अपराधमा संलग्न ब्यक्ति धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाग्लुङले चरणवद्ध चोरीमा योजना बनाउने मुख्य योजनाकारलाई पक्राउ गरेको छ ।
बाग्लुङ नगरपालिका– ३ मुल्पानीका वर्ष १८ का कुनाल बोहराको निर्देशनमा दुई जना किशोरहरूलाई प्रयोग गरेर चोरी गराउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
आइतबार मध्यराति साढे १२ बजे बाग्लुङ नगरपालिका ४ मा ध १ प २२२१ नम्बरको मोटरसाइकल डोराइ हिँडिरहेका बेला १६ वर्षीय दुई किशोरहरूलाई नियन्त्रणमा लिएर सोधपुछका क्रममा मोटरसाइकल चोरीको भएको खुलेको थियो ।
उनीहरूसँग सोधपुछ गर्दा कुनाल बोहराको निर्देशनमा चोरी गर्ने गरेको प्रारम्भीक बयान दिएका छन् । कुनाल बोहरलाई सोमबारनै बाग्लुङ नगरपालिका– २ बालमन्दिर चोकबाट पक्राउ गरेको पहरी प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।
कुनाल बोहराको समूहले ९-१० स्थानमा चोरी गरेको अनुसन्धानका क्रममा खुलेको ज्ञवालीले बताउनु भयो ।
प्रहरीले विगत तीन दिनको अवधिमा प्रहरीले १ सय २२ एम्पुल लागुऔषध, ३७ हजार नगद सहित ४ जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञावलीले बताउनुभयो ।
बागलुङ नगरपालिका–९ तित्याङ घरभई बागलुङ बजारको रामरेखास्थित कोठाबाट प्रहरीले फेनारगन १४, डाइजेपाम १४ र नुरफिन १३ गरी कुल ४१ एम्पुल लागुऔषधसहित रोशन थापालाई पक्राउ गरिएको छ ।
यसैगरी लुकाएर राखिएको अवस्थामा प्रहरीले फेनारगन २७, डाइजेपाम २७ र नुरफिन २७ गरी कुल ८१ एम्पुल लागुऔषध सहित बागलुङ नगरपालिका–४ का अभिनाश बोहोरालाइ पक्राउ गरिएको प्रहरी जनाएको छ ।
बागलुङ नगरपालिका–१ कालिका मन्दिर गेटमा स्वीकृतबिना लक्की सेभेन स्केल (डार्ट) खेल खेलाउन विभिन्न बोर्ड सङ्कलन गरिराखेको अवस्थामा प्रहरीले लामा र मनबहादुर हर्मेललाई ३७ हजार नगद सहित पक्राउ गरेको छ ।
जिल्लामा पछिल्लो समय जुवातास खेलाउने गिरोह बढिरहेको जनगुनासो आएपछि सुक्ष्म रणनीति योजना बनाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अवैधरुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको ढुवानी गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइसकेको छ ।









