प्रधानमन्त्री प्रचण्डद्वारा माघे संक्रान्ति पर्वकाे अवसरमा शुभकामना

-


     हिडन खबर    
     माघ १ गते २०८० मा प्रकाशित


काठमाडौ / माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरुले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रुपमा मनाउने माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

१२ महिनामा वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिहरुमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्ति विशेष महत्वपूर्ण मानिन्छ। आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ। मूलतः प्रकृतिपूजक पर्वका रुपमा मनाइने यस पर्वमा तिल, तरुल, घिउ, सख्खरका विभिन्न परिकारहरु, विभिन्न सांस्कृतिक महोत्सव र झाँकीहरु, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, तीर हान्ने खेल लगायतका क्रियाकलापहरु हुने गर्दछन्, जसले नेपालको आदिम समाज, ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई समेत उजागर गर्दछ प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ ।

भौगोलिक रुपले यति सानो मुलुकमा हामीले जुन जातीय, भाषिक, सांस्कृतिक विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो। माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरुङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरुको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो। यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन्।

नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरुको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको छ। तसर्थ, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो भन्नु भएको छ ।
माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।