
बागलुङ,साताै बागलुङ महाेत्सवकाे एघारौं दिन पत्रकार बिजय रानामाथी भएको कुटपिटको घटनाको सत्यतथ्य पत्ता लगाएर कानूनी कारवाही गर्न ५ सदस्य रहेको छानविन समिति गठन भएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बागलुङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बीचको त्रिपक्षीय बैठकले उक्त समिति गठन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा अनुसन्धान अधिकृत, नेपाल प्रहरीको निरीक्षक, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल र नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्त रहेको समिति गठन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
कुटाइबाट पत्रकार राना घाइते रानाको धौलागिरि अस्पतालमा उपचार भएको थियो । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सवको ११ औं दिन काम सकेर फर्कने क्रममा धौलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटमा रानामाथी कुटपिट भएको थियो । अन्य व्यक्तिलाई कुटेको देखेपछि तस्बिर खिच्दा पत्रकार रानाको मोबाइल समेत खोसिएको थियो । प्रहरीले भने हुलहुज्जत गर्नेलाई लाठीचार्ज गर्दा पत्रकार राना पनि कुटिएको दाबी गरेको छ ।
महासंघको नेतृत्वमा पत्रकारले निरन्तर दबाव दिएपछि मंगलबार दिउँसो मात्र प्रजिअ रिजालले छानविन समिति गठन गरेका हुन् । समितिलाई ५ दिनभित्रै सत्यतथ्य ल्याउन भनिएको छ । उक्त समितिको प्रतिवेदनको आधारमा दोषीलाई बिभागीय कारवाहीको लागि सिफारिस गर्ने उनले बताए ।
नेपाल पत्रकार महासंघ, बागलुङ, गण्डकी प्रदेश र केन्द्रीय समिति तथा पत्रकारका पेशागत संस्थाले बिज्ञप्ती प्रकाशित गरेर घटनाको बिरोध गरेका छन् । समाचार संकलनको क्रममा पत्रकारले परिचय दिंदा पनि कुटपिट हुनु प्रेस स्वतन्त्रता बिरोधी घटना भएको बिज्ञप्तीमा उल्लेख छ ।









