
बागलुङ /बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिकामा ९८ जना क्षयरोगका बिरामी भेटिएका छन् । तीन वटा वडामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा ९८ जना क्षयरोगोको पहिचान भएको हो । वडा नं २, ४ र ७ मा गरिएको परीक्षणमा उनीहरुलाई क्षयरोगको संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
लामो समय देखि यहाँ क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । उक्त परीक्षणले नपुगेपछि ठूलो शिविर सञ्चालन भएको हो ।
क्षयरोग बिशेषज्ञ डा. प्रमोद भट्टराई र क्षयरोग उपचार केन्द्र पोखराका डा. रमेश आचार्य सहितको बिज्ञ टोलीले यहाँ १ हजार ६ सय ४ जनाको छातीको एक्स-रे र २ सय ५६ जनाको खकार परीक्षण लगायतको उपचार सेवा समेत दिएका हुन् ।
स्वास्थ्य कार्यालयले गाउँपालिका तथा क्षयरोग उपचार केन्द्र पोखराको समन्वयमा गरेको शिविरमा जापान-नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले प्राविधिक सहयोग गरेको थियो । क्षयरोगको संक्रमण शुन्यमा झार्ने लक्ष्यले कार्यालयले खोजपड्ताल गरिरहेको छ,’ घिमिरेले भने, ‘सामान्य होला भनेर गरेको शिविरमा ठूलो संख्या भेटियो ।’ यो डरलाग्दो अवस्था भएको उनले बताए ।
यो समस्या जिल्लाभर हुन सक्ने अनुमान गर्दै धौलागिरी अस्पतालमै क्षयरोग परीक्षण, उपचार र उपचारको प्रभावकारिता थाहा पाउने ‘एक्स्पट एक्सडिआर १० कलर’ मेसिन समेत जडान भएको छ ।
क्षयरोगको प्रारम्भिक चरण पार गरेर जटिल समस्या भएका बिरामीको उपचार गर्ने पद्दति डिआर हो । यो विधिका लागि यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर पुग्नुपर्थ्यो । यो मेसिन जडानपछि शिविर बाहेक अस्पतालमा पनि नियमित सेवा सञ्चालन भएको छ ।
गत बर्षसम्म बागलुङका २ सय ३५ क्षयरोगीले नियमित औषधी खाइरहेका थिए । यो संख्या थपिँदा ३ सय ३३ जना पुगेका हुन् । यो क्रम बढ्ने भएकोले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पनि सामान्य प्रकारको क्षयरोग पत्ता लगाउने ‘डिएस ६ कलर’ प्रविधिको परीक्षण मेसिन जडान गरिएको घिमिरेले जानकारी दिए ।
बडिगाड गाउँपालिकाकाे आयोजना र स्वास्थ्य कार्यालय बागलुङको सयुक्त आयोजना,क्षयरोग उपचार केन्द्र पोखराको समन्वयमा शिविर सम्पन्न भएको पालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

















