
बागलुङ । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले नवसाक्षर आमा समूहले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट हालसम्म ५१ हजार रुपैयाँ संकलन भएको छ।
कार्तिक १९ गतेदेखि सुरु भएको कार्यक्रममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको छ। देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको समूहले जनाएको छ।
समूहकी अध्यक्ष एलिजा थापाका अनुसार देउसी–भैलोबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने योजना रहेको छ।
आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा आमा समूहले देखाएको सक्रियता प्रशंसनीय रहेको छ। यस्ता कार्यक्रमले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहलाई जोड्दै मौलिक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।









