
मानवीय तथा सामाजिक सेवालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लायन्स लिडरहरूको प्रतिबद्धता
काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

शनिबार काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एन्ड ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीसहित लायन्सका विभिन्न तहका नेतृत्वले पर्वहरूको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटी, डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, फस्ट भाइस गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस गभर्नर हसनकुमार गोपाली, पीआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठ र मिसन १.५ चिफ महाप्रसाद पाण्डेलगायत लायन्स लिडरहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरूले दीपावली, नेपाल संवत् तथा छठ पर्वले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहकार्यको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
कार्यक्रममा लायन्स क्लबले मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा गर्दै आएका सेवामूलक गतिविधिलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउँदै आगामी दिनमा निरन्तर अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले सन् २०२६–२०२७ का लागि तय गरेको ‘लिडिङ विथ पर्पस’ (उद्देश्यसहित नेतृत्व) भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरेको हो ।












