स्वास्थ्य बीमा गरेकाले माघदेखि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

-


     हिडन खबर    
     पौष ५ गते २०८० मा प्रकाशित


काठमाडौ / स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको छ । स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारको कुल १० प्रतिशत आफैँले तिर्नुपर्ने भएको छ । 

स्वास्थ्य बीमा बोर्डले बिमितले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने प्रावधान ल्याएपछि उपचारको १० प्रतिशित तिर्नुपर्ने भएको हो । 
 
 बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिने बताए । उनले सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुने जानकारी दिदै यसले राज्यलाई आर्थिक भार कम पर्ने बताए । लाेहनीका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको हुदा त्यसलाई न्युनिकरण गर्न यो ब्यवस्था गर्न लागेको बताए ।
 
बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ । कोपेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ । उनले भने, “थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौं ।”
 
अस्पतालमा एक महिनाका लागिमात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ । बिरामीलेसमेत दुःख पाउने गरेका छन् । उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको डा लोहनीले बताए ।
 
यही माघ १ गतेदेखि यो व्यवस्था लागू हुनेछ । हाल अस्पतालले बीमाको सेवा दिएर पनि महिनौँ भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन् । डा लोहनीले बीमाको रकम दाबी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताए। उनले भने, “सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ ।”
 
लाेहनीका अनुसार नेपालमा झण्डै ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् । विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।

एउटै राेगकाे उपचार गरिरहेका बिरामीले रिफर लेटर एकपटक लिएपछि पटकपटक लिननपर्नै ब्यवस्था गरेको छ ।