बडिगाडमा एकै पटक ६ घरमा चोरी

- सुनका गरगहना सहित ५ लाख बराबरको चोरी !

-


     राम प्रसाद घिमिरे     
     मंसिर २१ गते २०८० मा प्रकाशित


बागलुङ जिल्लाको बडिगाडमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ।

बडिगाड गाउँपालिका वाडा नम्बर-५ खौलार बजारमा मंगलबार राति एकै साथ ६ घरबाट सुन सहित ५ लाख बराबरको चोरी भएको हो ।

घनाबस्ती भएको बजारका आधा दर्जन घरमा एकैरातमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन् ।

मंसिर १९ गते रातको २ बजेको हाराहारीमा बजारका ५ बटा पसल तथा एक घरमा नगद र सुनचाँदी गरि ५ लाख बराबरको चोरी भएको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए ।

मंगलबार रातको २ बजे देखि ३ बजेको समयमा टारी स्थित अर्जुन प्रसाद खरेलको घरबाट साढे ३ तोला सुन, खौलार बजारको प्रज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट ५ हजार, र कक्षपती स्टोर्सबाट ४ हजार नगद चोरी भएको आचार्यले बताए ।

सबै घरहरुका ताल्चा फुटालेर चोरहरु प्रवेश गरेको पाइएको छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी गरिएको पिडितले बताएका छन ।
चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसिक्यामेरामा देखिएको दृश्य अनुसार एकजना अधबैंसे पुरुष मुहारमा मुकुण्डो लगायको, झोला बोकेको र पीपिइ लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रा सहित चोरी गरेको छ ।

चोरीको प्रकृति हेर्दा निकै अनुभवी र बिषयमा जानकार रहेको हुनसक्ने देखिन्छ ।

गाउँपालिका तथा प्रहरी चौकी नजिकैको मुख्य व्यापारीक केन्द्र मै एकैसाथ धेरै घरमा चोरी हुँदा स्थानीयहरुले असुरक्षित महसुस गरेका छन ।

घटनाको विषयमा लगत संकलन तथा पीडितसँग सोधपुछ सहित थप अनुसन्धान भइरहेको खार प्रहरीका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेन्द्र दर्लामीले बताए ।

उक्त श्रृखंलाबद्ध चोरीको घट्नामा प्रहरीले अनुसन्धान गरीरहेको र यो समाचार तयार पार्दासम्म कसैलाई समात्न नसकिएको प्रमुख दर्लामीले बताए ।

गाउँपालिकाको केन्द्र नजिकैको बजारमा भएको चरणबद्ध चोरीको घटनाले सुरक्षा चुनौती बढेको र सुरक्षा निकायसँग समन्वय गरी पालिका भित्रका सिसिक्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।