तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल अलपत्र

-


     राजेशचन्द्र राजभण्डारी     
     मंसिर १९ गते २०८० मा प्रकाशित


काठमाडौं /दिनमा हजारौं सवारीसाधन चल्ने राजधानीको मुटु तीनकुनेमा निर्माणाधिन माेटरेवल पुल बर्षाै सम्म नबन्दा सर्वसाधारणले सास्ती झेल्नुपर्ने समस्या यथावत् छ भने जोखिमबारे सरकार सचेत नहुँदा आमनागरिकले सास्ती मात्र खेप्नुपरेको छैन, ज्यान नै गुमाउनुपरेको छ ।

ठेकेदारको लापरवाहीले साढे आठ वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने पुल निर्माणकार्य अलपत्र परेको छ । निर्माण कार्यकाे जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको काम समयमा नसकेको भनी नयाँ निर्माण कम्पनी लाई कामको जिम्मेवारी दिएको बताइएपनि अहिलेसम्म पुलको नयाँ डिजाइन बन्न नसक्दा काम शुरू हुन सकेको छैन ।

देशको संघीय राजधानीकाे रूपमा रहेको काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा निर्माण सम्झौता रद्द भई आठ वर्षदेखि अलपत्र परेको पुलको काम निर्माण कम्पनीले अहिलेसम्म शुरूवात नगर्दा दुर्घटनाको जाेखिम बढेर गएको काठमाडौ महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष सराेज ढकालले बताए ।

सार्वजनिक स्थलमा सर्वसाधारणले झेल्नुपर्ने जोखिमबारे सरकार सचेत नहुँदा आमनागरिकले सास्ती मात्र खेप्नुपरेको छैन, ज्यान नै गुमाउनुपरेको हुदा पुल छिटो निर्माण हुनुपर्ने सर्वसाधारणको भनाइ छ ।

अलपत्र परेको पुरानो ठेक्का रद्द भइसकेको अहिले नयाँ ठेक्का वाइ पिएनेश्वर जेवीले कामको जिम्मेवारी लिएको अहिले पुलको डिजाइनिङ बिल्डकाे लागि बिभागमा पेश भएको त्यहाबाट स्वीकृत भएपछि काम शुरू हुन काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

पप्पु कन्स्ट्रक्सन प्रालिले २०७१ सालमै ठेक्का सम्झौता गरेको पुल समयमै निर्माण सम्पन्न नभएपछि २०७६ सालमा सडक विभागले ठेकेदार कम्पनीसँग ठेक्का तोडेको थियो । त्यसपश्चात नयाँ ठेक्का त लागेन नै, त्यहाँ बनाइएका संरचना सडक छेउमा धराप जसरी रह्यो । जहाँ बारम्बार दुर्घटना भइरहन्छ । तर त्यहाँको जोखिम न्यूनीकरणमा सरकारको ध्यान भने गएको छैन ।
देशको राजधानी, त्यसमाथि सबैभन्दा सम्पन्न स्थानीय तहमध्येको काठमाडौं महानगरपालिकाको सडकछेउमा यस्तो धराप थापिएको छ । झन पुलको छेवैमा महानगरको वडा नम्बर ३१ को कार्यालयसमेत छ । यसरी जोखिमयुक्त खाडल बनाएर केन्द्रीय सरकारले वर्षौंदेखि परियोजना अलपत्र छोडेको त छ नै, सामुन्ने नै रहेको महानगरपालिकाको ३१ नम्बर वडाले दबाब दिए पनि सराेकारवालाले देखेको नदेखे झैं गरेको छ ।

काठमाडौं उपत्यकामा बर्सेनि यस्ता धराप, ढलमा पसेर तथा खोलाले डुबाएर १० जनाको हाराहारीमा मृत्यु हुने गरेको छ । तीन वर्षमा काठमाडौं उपत्यकामा सार्वजनिक निर्माण क्षेत्र व्यवस्थित नहुँदा ३९ जनाले ज्यान गुमाएका छन् ।

सडक बिभागले पप्पु कन्स्ट्रक्सन संग २०७६ सालमा ठेक्का सम्झौता खारेज गरेपछि नयाँ ठेकेदार कम्पनी
वाइ पिएनेश्वर जेवी संग २०७९ बैशाख २६ गते ठेक्का सम्झौता गरि दुई बर्ष भित्र काम सम्पन्न गर्ने सहमति भएपनि अहिलेसम्म काम शुरू भएको छैन ।एकसाथ काम शुरूवात भएको यस्तै खालको पुल बिजुली बजारमा संचालनमा आइसकेको छ ।याे पुल सम्पन्न भइ संचालनमा आएमा यश क्षेत्रमा अहिले भइरहेको ट्राफिक जाममा समेत कमि आउने देखिन्छ ।