बागलुङ सदरमुकाममा जतिपटक बजार अनुगमन गरे पनि त्यसको खासै सकारात्मक प्रभाव भने देखिएको छैन ।चाड पर्वकाे बेलामा आम उपभोक्ताले दुई चार पैसा सस्तोमा सामान खरिद गर्न पाउनुपर्नेमा उल्टै महंगो मुल्य तिर्न बाध्य छन् ।चाडवाड नजिकिएसँगै थोक तथा खुद्रा व्यवसायीले मुल्य वृद्धि गरेको जनगुनासो बढेपछि बागलुङ नगरपालिकाले ध्यानाकर्षण गराएको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि आम उपभोक्तालाई मर्का पर्ने गरि मुल्यवृद्धि नगर्न गरेको खण्डमा कडा कार्वाही गर्ने चेतावनी दिएका थिए ।
अहिले बजारमा अनुगमन धमाधम भइरहेको बेला बागलुङ उद्योग बाणिज्य संघले नगरपालिकाले गरेको अभियान लाई सहयोग नगरेको बागलुङ नगरपालिकाकाले आराेप लगाएको छ ।
बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले पछिल्लो १ महिनामा मात्र १३ पटक बजार अनुगमन गर्दा पनि बागलुङका खुद्रा तथा थोक विक्रेताहरुले सम्वेदनशिलता नदेखाएको बताए ।
वर्षाैपहिले म्याद सकिएका खाद्यवस्तु अहिले पनि बजारमा छ्याप छ्याप्ती भेटिएको भन्दै अवपनि व्यवसायीहरु नसच्चिए कडा कारबाही गर्ने त्यसको लागि आम उपभोत्ता पनि सचेत बन्नुपर्नेमा जोड बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठले म्याद सकिएका अखाद्य वस्तुलाई विक्रि गर्ने वस्तुहरुकै सरह राखेको पाइएमा अनिवार्य रुपमा जफत गरिने बताए ।
बागलुङ बजारका अधिकाशं पसलहरुमा पाइने रंगिन झिनियाँ प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह समेत गरे । झिनियाँ व्यापारिसँग कुरा गर्दा सेतो झिनियाँ विक्रि हुँदैन उपभोक्तालेनै रातो, पहेलो झिनियाँ खोज्नुहुन्छ भन्ने गरेको पाइयो, रंगिन झिनियाँ तेलमा फ्राई गरेर प्रयोग गर्दा प्राणघातक क्यान्सर रोग लाग्ने जोखिम बढी हुन्छ ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघ बागलुङका राजु गौतम, खुद्रा किराना व्यवसायी संगठन बागलुङका उपाध्यक्ष फुलराज शर्मा, धौलागिरी अधिकृत विक्रेता संघका पूर्व अध्यक्ष बद्री ढुङगाना, पत्रकार महासंघ बागलुङका सह–सचिव तारानाथ आचार्य, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगाएतले अहिले देखिएको समस्या लाई समाधान गर्दै जानुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिकाका अधिकृत युक्त प्रसाद सुवेदीको सहजिकरणमा सम्पन्न भएको थियो ।












