पुस्तकालयमा पुस्तक पढ्ने वातावरण सृजना गर्नुपर्ने

-


     हिडन खबर    
     कार्तिक ३ गते २०८० मा प्रकाशित


बागलुङ । दशैँ लगाएत चाडपर्वमा आफन्तसँग भेटघाट, घुमघामको साथै पुस्तक पढ्नु लाभदायक भएको वक्ताहरुले बताएका छन् । विद्यामन्दिर पुस्तकालयले आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको सुखद उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
विदामा धेरै पुस्तक अध्ययन गर्ने भएकोले नयाँ र पुरानो उपयोगी पुस्तक छनौट गरेर यात्रामा लैजानको लागि पुस्तकालय उपयुक्त माध्यम भएको वक्ताहरुले जोड दिए । दशैँ, तिहार, नेपाल सम्वत् जस्तो लामो विदामा पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्नुपर्ने र पठन संस्कृतिको विकास गर्न सबै सरोकारवालाहरुसँग पुस्तकालयले सहकार्य गर्नु पर्ने बागलुङ नगरपालिकाका उपमेयर राजु खड्काले बताए

कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्षहरु महेशचन्द्र प्रधान, इश्वर मलेपती, विकास शाक्य, उत्तम श्रेष्ठ, मुकेशचन्द्र राजभण्डारी, राम प्रसाद शर्मा, कार्यसमितिकी कोषाध्यक्ष कोपिला कँडेल, सदस्य धनमाया शर्मा, काजिगाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव तारानाथ आचार्य, विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मी, बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश महतो, रामरेखा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा आचार्य, सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, संरक्षक सदस्य प्रेम छोटा, हरिहर श्रेष्ठ, कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, प्रेस सेन्टर नेपाल जिल्ला समिति बागलुङका उपाध्यक्ष संजन कुमार सिंह, प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष राम चन्द्र शर्माको स्वागत र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।