बागलुङ नगरपालिकाको नगर प्रमुखमा एमालेबाट ७ आकाक्षी

-


     राजनीतिक व्यूरो    
     फागुन २० गते २०७८ मा प्रकाशित


आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको लागि साविक धौलागिरीको पहिलो नगरपालिका बागलुङ नगरपालिकामा मेयर पदको लागि चर्चा हुन थालेको छ ।

निर्वाचन आयोगले फागुन २६ सम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने कार्यतालिका सार्वजनिक गरे संगै बागलुङका प्रमुख राजनीतिदलमा निर्वाचन लड्नका लागि उमेदवारको चर्चा परिचर्चा हुन थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र बागलुङ नगरपालिकाको नगर प्रमुख बन्नको लागि एमालेका नगर कमिटी देखी जिल्ला तहका नेता एवं प्रदेश सांसद सम्म उमेदवार बन्नको लागि दौडधुप सुरु गरेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगर प्रमुख सहित बहुमत वडा अध्यक्ष जित्न सफल भएको एमाले यसपटक पनि निर्वाचन हात पार्ने दाउमा छ ।

मेयरको उम्मेदवारका लागि एमालेका निर्वतमान जिल्ला उपाध्यक्ष कृष्ण पाठक, युवा ब्यवसायी कुमार खड्का, प्रदेश कमिटि सदस्य ममता देवी शर्मा, नगर कमिटीका अध्यक्ष धनबहादुर परियार, वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापाले नगर प्रमुखको लागि दावी गरिरहेका छन् ।

गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा समेत नगर प्रमुखको लागि पार्टीले टिकट दिएको खण्डमा उठ्न तयार रहेको चर्चा बजारमा चलिरहेको छ ।

यस्तै बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेल फेरि पनि सोही पदमा दोहोरिनको लागि कसरत गरिरहेको एमाले नेताहरू बताउँछन् । अहिलेसम्म बागलुङ नगरपालिकाको नगर प्रमुखको उमेदवारको लागि मात्रै चर्चा परिचर्चा भइरहेको छ ।

गत स्थानीय तहको निर्वाचनमा एमाले, राजमो र राप्रपा विच गठबन्धन गरेर निर्वाचनमा भिडेको एमाले यसपटक भने कुन शक्ति संग गठबन्धन गरेर अगाडि बढ्ने हो त्यो भने अझै स्पष्ट भएको छैन ।