नव दुर्गा लागे संगै कालीका भगवती मन्दिरमा भक्तजनकाे घुँइचाे

-


     हिडन खबर    
     असाेज २८ गते २०८० मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी
बागलुङ,नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागे संगै हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ । रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ ।

नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालिका भगवती मन्दिरमा नब दुर्गाकाे पहिलो दिन श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि मन्दिरमा पुजाअर्चना गर्नेहरूकाे भिड लागेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालिका मन्दिरमा बिजया दशमी प्रारम्भ भएको दिन बिहानदेखि नै भक्तजन पुजाअर्चनाकाे लागि आएका भक्तजनलाई सहजरूपमा पुजा गर्ने ब्यवस्था मिलाएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

कालिका भगवती मन्दिरमा आएर पुजा गरे आफुले मनले चिताएकाे कुरा पुरा हुन जनविश्वास भएको कारणले पनि आफुहरू मन्दिर आउने गरेको श्रद्वालु भक्तजनकाे भनाइ छ।

कालिका भगवती मन्दिरमा भक्तजनले प्रसादकाे रूपमा चामलको पिठो घिउमा पकाएको राेट देवीलाई चढाउने भएको हुनाले पनि यसको ब्यापार राम्रो भएको ब्यवसायी डम्बर मल्लले बताए ।

दुर्गा लागपछि कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट हजारौंकाे संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने आउने कालीका भगवती मन्दिरका पुजारी जयबहादुर खड्काले बताए ।

बागलुङ कालिका भगवती मन्दिरमा चैत्राष्ठमी र बडा दशैमा बिशेष पूजा अर्चना हुन्छ । त्यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेश कै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।

तत्कालीन पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भएकाे थियो  विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याएकाे किम्बदन्ती रहेको छ ।

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ।

कालीका भगवती संग गरेको भाकल पूरा भएकाे भन्दै बिशेश गरि, काठमाडौ, पाेखरा, नारायणगढ, स्याङ्जा, गुल्मी, पर्वत, तनहुँ, गाेर्खा लगायत देशभर बाट दर्शनको लागि आउने गर्छन् ।

कालिका गुठी ब्यवस्थापन समितिले मन्दिर पुजा गर्न आउने भक्तजनकाे सहजाताकाे लागि लाइनमा बसेर सजिलोसँग पुजा गर्ने प्रवन्ध मिलाएको छ । कालीका भगवती मन्दिरमा एक बर्षकाे अबधिमा करिब १५ लाख भक्तजन आउने गरेका छन् ।