-


     हिडन खबर    
     असाेज ९ गते २०८० मा प्रकाशित


डाक्टर र स्वास्थ्यकर्मी पनि आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन

राजेशचन्द्र राजभण्डारी
काठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् ।

डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीकाे मुटुमा डाक्टरले आन्दोलन गरेपछि यश क्षेत्रकाे यातायात समेत प्रभावित बनेको छ । डाक्टर नयाँ बानेश्वर निषेधित क्षेत्र सडकमा प्रवेश गर्न खाेजेपछि प्रहरी संग झडप भएको थियो ।

आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत डाक्टरहरूकाे भनाइ छ ।

हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चाे अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।

दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर,  हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।

माइतीघर मण्डलामा राहत शिक्षकहरुको पनि अन्दोलन भइरहेको  छ।