राजेशचन्द्र राजभण्डारी
काठमाडौं
नेपाल सरकारले गत भदौ २७ गते संसद् सचिवालयमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति शिक्षक र विद्यालय कर्मचारीहरुले विरोध जनाएका छन् । पाँच दशकपछि बल्लतल्ल ल्याइएको विद्यालय शिक्षासम्बन्धी विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै शिक्षक र विद्यालय कर्मचारीहरुले आन्दोलन थालेपछि राजधानीकाे ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विधेयको विरोधमा देशभरका सामुदायिक बिद्यालय बन्द गरि बिद्यालयका शिक्षक र कर्मचारीहरू राजधानी केन्द्रीत आन्दोलनकाे लागि काठमाडौं माइतीघर मण्डलामा आएर बिराेध कार्यक्रम जारी राखेका छन् ।
शिक्षक र विद्यालयका कर्मचारीको मुलभूत मुद्दाहरुलाई सम्बोधन नगरिकन संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने सार्वजनिक शिक्षा ध्वस्त बनाउने गरी विधेयक ल्याएको यो शिक्षकको हितमा नभएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सचिव केशव रेग्मीले बताए ।
पटकपटक आफ्नो माग सरकारलाई विभित्र संगठन मार्फत राख्दा समेत कुनै सुनुवाइ नभएको कारणले गर्दा आन्दोलनमा जानुपर्ने बाध्यता सृजना भएको आन्दोलनरत शिक्षकहरूकाे भनाइ छ ।
अहिले प्रस्तावित शिक्षा ऐनमा शिक्षकले बहुविवाह गर्न नपाइने भनेर लेखिएकोमा आपत्ति जनाउँदै के ठिक के बेठीक भन्ने कुरा शिक्षकलाई थाहा भएको हुदा त्यो प्रावधान राख्न नहुने आन्दोलनरत शिक्षकको भनाइ छ ।
अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायीत्वको सवालमा शिक्षा ऐन नबोलेको भन्दै शिक्षकहरूले आराेप लगाउदै सरकारलाई थप दबाब सृजना गर्न आन्दोलनमा उत्रिएका छन् ।
विधेयकलाई अन्तिम रुप दिनुअघि विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको शिक्षा मन्त्रालयले उल्लेख गरेको छ । तर शिक्षकहरु भने वार्तामा नबसि बिराेध प्रदर्शनमा उत्रिएका छन ।
निजी विद्यालयमा पठनपाठन चलिरहँदा सामुदायिक विद्यालय बन्द भएपछि विद्यार्थीहरु निराश भएका छन् । विद्यालय बन्दबारे जानकारी नभएपछि आज पनि विद्यार्थीहरु स्कुल पुगेर फर्किरहेको देखिन्थें । झोला बोकेर स्कुल पुगेका विद्यार्थीहरुलाई ओहोरदोहोर गर्नुको सास्ती मात्र भएको छ ।
शिक्षक तथा विद्यालय कर्मचारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीले बिहानैदेखि माइतीघर मण्डला घेरेपछि सबैतिर ट्राफिक जाम भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न स्थानमा अत्याधिक ट्राफिक जाम छ । एउटा गन्तव्यमा जान हिडेका ब्यक्तिहरू यातायातको अस्तब्यस्ताले गर्दा धेरै कष्ट भाेग्न बाध्य बनेका छन् ।
ट्राफिक प्रहरीलाई जाम खुलाउन हम्मेहम्मे परेको छ । ट्राफिक जाम हुँदा सर्वसाधारण मर्कामा परेका छन् । कार्यालय पुग्नुपर्नेहरुलाई त आन्दोलनमा झनै समस्यामा पार्यो । शिक्षक तथा विद्यालय कर्मचारीहरुले सडक ढाकेपछि घण्टौं जाममा बस्नुपर्ने बाध्यता थियो । कलेज जाने विद्यार्थीहरु पनि जाममा अड्किएका थिए ।
सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकले विद्यालय सुधारसम्बन्धी बुँदाहरु समेटेको छ । जसमा शिक्षक राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने, समयपालनामा नियमितता, शैक्षिक योग्यता र तालिम प्रमाणपत्र पेश गर्नुपर्ने, दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार–व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन वा हड्ताल गर्न नहुने, विद्यार्थीलाई यातना दिन नहुने, सम्पत्ति विवरण पेश गर्नुपर्ने, स्थायी आवासीय अनुमति लिन नहुनेलगायतका विषय उल्लेख छ ।















