
काठमाडौं । समाजसेवी उद्योगी पुष्पमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सोल्टीमोडस्थित निवासबाट शवयात्रा गरी शनिवार दिउँसो पशुपति आर्यघाट अन्त्येष्टि गरिएको हो । श्रेष्ठलाई उनका दुई छोरा सुनिल श्रेष्ठ र अनुप श्रेष्ठले दागबत्ती दिएका छन् । श्रेष्ठको हिन्दु विधिअनुसार अन्त्येष्टि गरिएको हो।
अन्तिम श्रद्धाञ्जली दिन उद्योगी, व्यवसायी, शिक्षासेवी, समाजसेवी र राजनीतिक दलका नेताहरू पशुपति आर्यघाट पुगेका थिए ।
आर्यघाटमा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा, बागलुङका सांसद एवम् राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ,नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा थापाले पुष्पमान श्रेष्ठले देश र समाजको लागि पुर्याउनु भएको योगदानमाथि चर्चा गरेका थिए ।
श्रेष्ठको शुक्रबार अपरान्न ५ बजे निधन भएको थियोे ।
श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षासेवी, पत्रकार, राजनैतिक दलका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो।










