रातामाटाका १ सय ७९ घरमा कलकल बग्न थाले पानीका धारा

-


     हिडन खबर    
     श्रावण २९ गते २०८० मा प्रकाशित


बागलुङ । बागलुङ नगरपालिका वडा नम्वर ३ रातामाटाका १ सय ७९ घरमा चौविसै घण्टा खानेपानीको सहज पहुँच पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० र बागलुङ नगरपालिकाका सहयोगमा निर्माण भएको रातामाटा खानेपानी तथा सरसफाई आयोजनाबाट चौविसै घण्टा खानेपानीको आउने भएको हो । नेवाको ६८ लाख १४ हजार ६ सय ८१, बागलुङ नगरपालिकाको १६ लाख ९३ हजार ७ सय ९४, उपभोक्ताबाट नगद ६ लाख ३० हजार, उपभोक्ताको जनश्रमदान १९ लाख ६९ हजार ९ सय १६ गरी जम्मा १ करोड ११ लाख ८ हजार ३ सय ९६ रुपैया लागतमा खानेपानी आयोजना निर्माण भएको हो । आयोजनाबाट १ सय ७९ घर, एक मन्दिर, एक विद्यालय र बागलुङ नगरपालिकाको रातामाटा स्थित कार्यालय गरी १ सय ८१ धाराको पहुँच पुगेको हो । आयोजना र उपभोक्ताको सक्रियतामा ४ महिनामै काम सम्पन्न गरी घर घरका घारामा पानी आएको समितिले सचिव दिपक शर्माले बताउनु भयो ।

सो आयोजनाको सोमबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नु भयो । खानेपानी उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले स्वास्थ्यको सफा खानेपानी सबैको मौलिक अधिकार भएको बताउदै शहरमा भन्दा गाँउमा बस्ने नागरिकले कम लागतमा सफा पानी उपभोग गर्न पाएको बताउनु भयो । बजारमा मोटो रकम खर्च गर्दा पनि सफा पिउने पानी पाउन नसकेको भन्दै गाँउमा बस्ने नागरिकले मुहानको सफा पानी उपभोग गर्न पाएको बताउनु भयो । नगरवासीको आवश्यकतालाई मध्यनजर गरी विकासका काम आगाडि बढाउने नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नगरकार्यपालिका सदस्य धनमाया शर्मा, नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० प्रदेश कार्यालय बागलुङका प्रमुख रमेश दाहाल, खानेपानी आयोजनाको सल्लाहकार मुरारी शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आयोजनाको बारेमा समितिका सचिव दिपक शर्माले जानकारी दिनु भएको थियो । रातामाटा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष हितनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र शर्माले र संचालन सरस्वती रेग्मीले गर्नु भएको थियो ।