
बागलुङ । नेपालका लागि प्रस्तावित वेलायती राजदुत रव फ्यान र बिट्रिस गोर्खा वेलफेयरको टोलिले विद्यामन्दिर माध्यमिक विद्यालयको अवलोकन गरेको छ । टोलीले गोर्खा वेलफेयर ट्रष्टले विद्यालयमा निर्माण गरेको आठ कोठे पक्की भवनको अवलोकन गर्न आएको हो ।
ट्रस्टले १ करोड ३५ लाख रुपैयाँको लागतमा ८ कोठे पक्की भवन निर्माण गरेको थियो । नेपालका लागि प्रस्तावित वेलायती राजदुत रव फ्यान सहित उनको परिवार र बिट्रिस गोर्खा वेलफेयरको टोलिले विद्यालयको अवलोकन गरेको थियो ।
सो अवसरमा विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै रव फ्यानले विद्यालय अवलोकन गर्दा खुसी व्यक्त गरेका थिए । विद्यालय धेरै राम्रो र सुन्दर रहेको भन्दै विद्यालयले गरेको स्वागत प्रति धन्यवाद दिएका थिए ।
कार्यक्रममा बिट्रिस गोर्खा वेलफेयर ट्रस्ट नेपालका डेपुटी डाइरेक्टर याम बहादुर रानाले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्दै आएको बताउदै आगामी दिनमा सहयोग गर्दै जाने बताउनु भयो ।
राणा शासनको बेला विसं १९९७ मा विद्यालयका संस्थापक ओम प्रसाद गौचन र मेघ कुमार वैद्यले स्थापना गरेको विद्यामन्दिर माविमा हाल १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा विषयको पढाइ सञ्चालन गरिरहेको विद्यालयका प्रअ छविरमण रेग्मीले बताउनु भयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यको अध्यक्षता र शिक्षक राधा मलेपतीको संचालनमा सम्पन्न भएको थियो ।२०७२ सालको भूकम्पले पूर्णक्षति भएकाले बालबालिका पढाउन समस्या परेपछि ब्रिटिस वेयलफेयर ट्रस्टले भवन निर्माणमा सहयोग गरेको थियो ।
ट्रष्टको ९० प्रतिशत र विद्यालयको १० प्रतिशत गरी कूल रु एक करोड ३९ लाखमा आठ कोठे भवन निर्माण भएको थियो ।



















